यस्तो छ, दाहालको डेरा शृंखला

ललितपुर, २ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष लाजिम्पाटबाट डेरा सरेर ललितपुरको खुमलटार पुगेका छन् । शुक्रबारको रातिबाटै दाहाल परिवार खुमलटारस्थित आफ्नो नयाँ डेरामा पुगेको हो ।

ललितपुर १५ खुमलटार हाइटस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घर भाडामा लिएर दाहाल सरेका हुन् । परिवारका अधिकांश सदस्य सरे पनि सामान भने सार्ने क्रम जारी रहेको छ । उनको सामान सार्न र पूर्ण रूपमा उतै बस्ने व्यवस्था मिलाउन अझै एक साता लाग्न सक्ने बताइएको छ । यद्यपि, दाहालले अहिले पनि भेटवार्ता भने लाजिम्पाटमै गर्दै आएका छन् । पछिल्लो पटक पुत्र वियोगपछि दाहाल परिवार लाजिम्पाटको घर सर्ने निचोडमा पुगेको पारिवारिक स्रोतले बताएको छ ।

एक मात्र छोराको निधनपछि पीडामा डुबेको दाहाल परिवारले नयाँ निवासमा सर्ने निर्णय गरेको हो । तर, पार्किङको अभाव र घरमा पानी चुहिने समस्या आएका कारण नयाँ ठाउँमा डेरा सर्नुपरेको दाहालको सचिवालयले जनाएको छ । उसो त दाहाल युद्धको थालनीदेखि नै डेरा सरिरहने व्यक्ति हुन् ।

शान्ति प्रक्रियामा आएपछि उनी राजधानीको नयाँ बजारमा डेरा लिएर बसेका थिए । माओवादीका तत्कालीन नेता डा बाबुराम भट्टराईसँगै बस्दै आएका दाहालले त्यहाँ दुई वटा घर भाडामा लिएका थिए । एकमा आपूm र भट्टराई तथा अर्कोमा माओवादीका सेना बस्ने गर्दथे । त्यहाँ पार्किङको समस्या देखाउँदै दाहाल लाजिम्पाट सरे भने भट्टराई सानेपा बस्न पुगे ।
शान्ति प्रक्रिया सुरु भएपछि यो उनको तेस्रो डेरा हो ।

युद्धको समयमा पनि दाहाल बारम्बार डेरा सरिराख्ने गरेको माओवादीका नेताहरूले जानकारी दिएका छन् । सुरक्षाको कारण देखाउँदै दाहाल भारतको नयाँ दिल्लीको नोएडा सेक्टर ८ हँुदै ३४ मा सरेका थिए । युद्धको वेला भारत बसाइका क्रममा दाहाल पञ्जाव, हरियाणा, पिरागढी र रोहिणीमा डेरा सरेका थिए । भारतमा माओवादी नेताहरू पक्राउ पर्न थालेपछि दाहाल पञ्जाबको जालन्धरसम्म डेरा सरेका थिए । भारतपछि नेपालमा उनले रोल्पामा समेत केही समय अस्थायी डेरामा बसेका थिए ।

नयाँ डेराका मालिक अधिकारी माओवादी केन्द्रको समानुपातिक सूचीमा परेका व्यवसायी हुन् । शैलुङ इन्भेस्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष एंव कार्यकारी निर्देशकसमेत अधिकारी समानुपातिक सूचीको ३३औँ नम्बरमा रहेका छन् । नयाँ घर पूर्व प्रधानसेनापति रुक्माङगत कटवालको निवास नजिकै रहेको छ ।

पहिलो पटक सरकारको नेतृत्व गर्दा दाहाल र कटवालबीचको टकवराव नेपाली राजनीतिमा अझै पनि चर्चाको विषय बन्ने गरेको छ । खुमलटार हाइटमा कटवालको निवास रहेको छ भने सो नजिकैको दूरीमा दाहालको नयाँ निवास रहेको छ । दाहाल लाजिम्पाट विगत ५ वर्षदेखि बस्दै आएका थिए ।

प्रतिक्रिया