राजधानीका लागि बुटवल उपयुक्त: विज्ञ


विकास पराजुली
बुटवल, २ पुस । प्रदेश नं. ५ को राजधानी दाङ वा बुटवल भन्ने विषय चर्चा भइरहँदा बुटवलमा आवश्यक पूर्वधारको खोजी सुरु भएको छ ।

प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै सरकारले प्रदेशको राजधानी तोक्ने तयारी गरिरहँदा प्रदेश नं. ५ को सम्भावित राजधानी मानिएको बुटवलमा पूर्वाधारको खोजी सुरु भएको हो । सहक्षेत्रीय प्रशासन कार्यालय पोखराका निमित्त प्रमुख बाबुराम गौतम सहितको विज्ञ टोलीले बुटवलका विभिन्न स्थानमा पुगी आवश्यक पूर्वधार भए–नभएबारे खोजी गरेको हो ।

प्रदेश सभाको बैठक ३५ दिनभित्र बस्नुपर्ने प्रावधानअनुसार प्रदेश मुख्य मन्त्रीको कार्यालय, सचिवलाय क्वाटर, मन्त्रालयका लागि आवश्यक भवनको अवस्थाबारे विभिन्न स्थानमा पुगी जानाकारी लिएको छ ।

२ दिन लगाएर टोलीले सम्भाविता स्थानको पहिचान गरेको बताइएको छ । प्रदेश नं. ५ को राजधानीका लागि बुटवलमा आवश्यक पूर्वधार तयार रहेको प्रतिबेदन विज्ञ टोलीले सरकारलाई बुझाउने बताइएको छ ।

प्रदेश प्रमुखको सचिवालय इलाका प्रशासनको कार्यालय, मुख्यमन्त्रीको कार्यालय राजस्व अनुसन्धान बुटवलमा राख्न सकिने सहक्षेत्रीय प्रसासन कार्यालय पोखराका निमित्त प्रमुख बाबुराम गौतमले बताए । ‘हामीले जे देखेका छौँ, त्यो प्रतिवेदन सरकारलाई दिन्छौँ,’ गौतमले भने, ‘प्रदेशको राजधानी बन्नका लागि बुटवलमा प्रयाप्त पूर्वधार रहेको हामीले पायौँ ।’

सरकारले सुरुआतमा प्रदेशको बैठक बस्न बुटवल छनोट गरेमा बुटवलमा पूर्वधार रहेको भन्दै आफूहरूले सोही प्रतिवेदन सरकारलाई बुझाउने बताए । ‘दाङमा पनि सम्भाव्यताको खोजी भइरहेको छ, हामीले पनि दुई दिन लगाएर यस क्षेत्रमा कस्ता पूर्वधार छन् भनेर हे¥यौँ,’ सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गौतमले भने, ‘मन्त्रालय, मन्त्रीको क्वाटर, सुरक्षा संवदेनशीलताका हरेक तबरबाट उत्कृष्ट छ ।’

विज्ञ टोलीले सीप विकास केन्द्र रामनगर, यातायात व्यवस्था कार्यालय, नोपतौल कार्यालय, इलाका प्रशासन कार्यालय, बुटवल उद्योग वाणिज्य संघको सभा हल, श्रम कार्यालयको नवनिर्मित भवन, व्यापार संघको सभा हल, कान्ति सभा हलमा प्रदेशको पहिलो बैठक राख्न सकिने बताएको छ ।

त्यसबाहेक बुटवल रामनगरमा रहेको धागो कारखानामा सवै मन्त्रालय राख्न सकिने भएकाले धागो कारखाना पनि विकल्पमा रहेको निमित्त प्रमुख गौतमको भनाइ छ ।

‘व्यापार संघ चोकमा रहेको श्रम कार्यालयमा त अझ मन्त्रालयहरू पनि धेरै राख्न सकिन्छ,’ उनले भने, ‘मन्त्रालय त्यहाँ राखेर मन्त्रीको क्वाटर यातायात कार्यालय, इलाका प्रशासनको कार्यालय, सीप विकास जहाँ राखे पनि हुन्छ ।’
प्रदेशको राजधानी दाङ या बुटवल बनाउने भन्ने विषय सरकारको रहेकाले अस्थायी राजधानी तथा पहिलो बैठक बुटवल बस्ने सम्भावना रहेकाले बुटवल तथा रूपन्देहीमा सम्भाव्यता अध्ययान गरेको उनको भनाइ छ ।

सहरी विकास कार्यालयका इन्जिनियर सुरेश ठाकुरले बुटवल क्षेत्रमा प्रदेशको राजधानी बन्न सक्ने प्रशस्त पूर्वाधार रहेको भन्दै आफूहरूले सोही प्रतिवेदन सरकारलाई दिने बताए ।

सरकारले ७ वटै प्रदेशको राजधानी तोक्ने तयारी गरेकाले आफूहरू बुटवल आएर यहाँको अवस्था बुझे पनि राजधानी तोक्ने अधिकार सरकारलाई रहेको उनले बताए । प्रदेश सभासद्, दर्शकदीर्घा, पत्रकार, मर्यादापालकसहित करिब ४ सय क्षमताको सभाहल बैठकका लागि आवश्यक हुने विज्ञ टोलीको भनाइ छ ।

प्रतिक्रिया