कमल र पार्वतीलाई स्वर्ण

काठमाडौं । नेपाल प्रहरी क्लबका खेलाडीद्वय कमल श्रेष्ठ र पार्वती गुरुङले आठौँ कोरियन एम्बासडर राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । सिनियर एकल पुम्सेको २९ वर्षमुनि पुरुषमा कमल र महिलामा पार्वतीले फाइनलमा क्रमशः जितबहादुर भोटे र निता गुरुङलाई पराजित गरे । पराजित दुवै नेपाल प्रहरीका हुन् । नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली एम्बेसीद्वारा संयुक्त आयोजित प्रतियोगिताको ३० वर्षमाथि सिनियर पुरुष एकल पुम्सेमा नेपाल आर्मीका रेजिन रिमाल पहिलो भए ।

उनले प्रहरीका जगदीशसिंह पालीलाई पराजित गरे । सोही स्पर्धाको महिलामा पोखराकी रेखमाया गुरुङ पहिलो भइन् । रेशमायाले आर्मीकी मीरा काफ्लेलाई पछि पारिन् । जुनियर पेयर पुम्सेका पुरुषमा स्युचाटारका अस्मिन राउत र विनिता तामाङ पहिलो तथा जेसिजका नवीन श्रेष्ठ र मोनिका मगर दोस्रो भए । सोही स्पर्धाको सिनियर पुरुषमा प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले स्वर्ण तथा आर्मीका सञ्जीव ओझा र निता गुरुङले रजत पदक जिते ।

टिम पुम्सेको पुरुषमा प्रहरीका प्रेमबहादुर लिम्बू, कमल श्रेष्ठ र जितबहादुर भोटे तथा महिलामा पनि प्रहरीका मीरा राना मगर, निर्मला विक र पार्वती गुरुङले शीर्ष स्थान हात पारे । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको १४ वर्षमुनि पुरुष एकल पुम्सेमा ललितपुरका युकिन चौधरी पहिलो र कोटेश्वरका सोहन श्रेष्ठ दोस्रो भए । त्यसै स्पर्धाको महिलामा आर्मीकी रिता श्रेष्ठ पहिलो र स्युचाटारकी मोनिका रम्तेल दोस्रो बने ।

पुरुष एकल पुम्सेका १७ वर्षमुनि जेसिजका नवीन श्रेष्ठ र स्युचाटारका अस्मिन राउत क्रमशः पहिलो र दोस्रो भए । उक्त स्पर्धाको महिलामा स्युचाटारकी नोमिता मोक्तानले स्वर्ण तथा आर्मीकी रोशनी श्रेष्ठले रजत हात पारे । जुनियर पुरुष ४२ केजी तौल समूहमा कोटेश्वरका श्रीकृष्ण कार्की र सीतापाइलाका विधान श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया