ओली–दाहालले बनाए पार्टी एकताविरोधीको सूची

काठमाडौं, १ पुस । चुनावी गठबन्धनलाई परिणाममुखी बनाएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विपक्षमा लाग्ने जोकोहीलाई नछाड्ने निर्णय लिएका छन् । निर्वाचनपछि पहिलोपटक शुक्रबार भएको औपचारिक भेटवार्तामा ओली र दाहालले दुवै दलभित्र एकताविरोधी चलखेल बढेको भन्दै सूची तयार पारेका हुन् ।

‘एमाले–माओवादी दुवैतिर विदेशी प्रभाव वा उक्साहटमा परेर एकता विरोधी काम भइरहेको छ, पार्टी एकता नहोस् भन्ने केहीमा चाहना रहेको पाइन्छ, को–को लागेका छन् भन्ने सूचना पनि छ,’ बैठकमा ओली र दाहालको भनाइ उधृत गर्दै स्रोतले भन्यो । स्रोतका अनुसार ओली र दाहालले एकताको विरुद्धमा लाग्नेहरूमाथि कडा नीति लिने सहमतिसमेत गरेका छन् । ‘एकताविरोधीलाई छाडिन्न, कसैको चलखेलले एकता रोकिन्न, विरोधमा लाग्नेहरू सकिन्छन्,’ दुई शीर्ष नेताको निर्णय उधृत गर्दै स्रोतले भन्यो ।

ओली र दाहालबीच बबरमहलस्थित एक निजी घरमा वार्ता भएको थियो । चुनावी परिणामसँगै दुई दलका नेता–कार्यकर्ता एकअर्काविरुद्ध घोचपेचमा लागेको विषयमा पनि दुवै नेताले निकै गम्भीरतापूर्वक विश्लेषण गरेका छन् । ‘देशको हित र समृद्धि चाहने कोही पनि पार्टी एकताको विरुद्धमा लाग्दैन, अरूतिरबाट सञ्चालित मात्रै यो अभियानमा लाग्न सक्छ भन्ने नेताद्वयको निष्कर्ष हो,’ बैठकपछि एमालेका एक नेताले भने ।

स्रोतका अनुसार एमालेका झन्डै एक दर्जन र माओवादीका आधा दर्जन नेताहरू भित्रीरूपमा एकताविरोधी अभियानमा लागेको सूचना आएको दुवै नेताबीच जानकारी गराइएको छ । वार्तामा ओली र दाहालले वाम गठबन्धन परिणाममुखी भएको निष्कर्ष निकाल्दै पार्टी एकतालाई अझै बलियो बनाएर लैजाने समझदारी गरेका छन् ।

एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालले चाँडै नै जनमतले दिएको अधिकार प्रयोग गर्दै वाम गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको बताए । उनले दुई नेताबीच सरकार र पार्टी एकता सँगसँगै लैजाने विषयमा कुराकानी भएको बताए ‘वाम गठबन्धनले वहुमत ल्याएपछि सरकार गठन र पार्टी एकता कसरी गर्ने भन्नेमा उहाँबीच छलफल भयो,’ रिमालले भने, ‘चाँडै नै यी दुई कार्यलाई कार्यदलबाट टुंग्याएर अगाडि बढ्ने सहमति भएको छ ।’

दुवै नेताले पार्टी एकताका बारेमा अनर्गल प्रचार नगर्ने आफ्ना पार्टी पंक्ति र अन्यलाई पनि सचेत गराएको उनले जानकारी गराए । वार्तामा पार्टी एकता प्रक्रियासँगै नयाँ सरकार गठन, राष्ट्रियसभाको गठन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनकाअनुसार छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र वाम गठबन्धन परिणाममूखी भएको निष्कर्ष निकालिएको छ ।

वार्तामा एकता भाँड्न हुनसक्ने चलखेलप्रति विशेष सतर्क रहँदै अघि बढने सहमति ओली–दाहालले गरेका छन् । ‘छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियो बनाएर लैजाने समझदारी भएको छ, शुक्रबारको छलफल अत्यन्तै सकारात्मक भएको र आवश्यक गृहकार्य गरेर अघि बढ्ने दुई अध्यक्षबीच समझदारी भएको छ,’ बैठकपछि दाहालका सहयोगी मनहरि तिमिल्सिनाले भने ।

दुई नेताबीच नयाँ सरकार गठनको विषयमा पनि लामो छलफल भएको थियो । निर्वाचनमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएको कारण आगामी सरकारको विषयमा लामो छलफल भएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको अन्तिम परिमाण आएको ३० दिनभित्र सरकार गठन गरिसक्ने कानुनी व्यवस्था रहेको छ ।

सोही व्यवस्थाअनुसार एमाले र माओवादीले सरकार गठनको तयारी थालेका हुन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले एक सय १३ सिट जितेको छ । सरकार गठनका विषयलाई लिएर एमाले अध्यक्ष ओलीले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटलगत्तै ओली राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए ।

 

प्रतिक्रिया