प्रहरीकै कारण अपराधमा फर्कन्छन् डन

काठमाडौं । चुनावको अघिल्लो दिन बानेश्वरबाट मिलन श्रेष्ठ उर्फ मिलन सेक्सी पक्राउ परे । उनलाई प्रहरीले तीन घण्टा पनि आफ्नो नियन्त्रणमा राख्न सकेन । कांग्रेस नेता प्रकाशमान सिंहको दबाबमा उनलाई छाड्न प्रहरी बाध्य भयो । २० वर्षअघिका बानेश्वर क्षेत्रका चर्चित डन मिलन पछिल्लो समय आपराधिक क्रियाकलापमा संलग्न नरहेको जानकारी प्रहरीलाई थियो । तर, चर्चामा आउन एकाएक उनलाई पक्राउ गरियो । ‘किन पक्राउ गरियो ? के कारण छाडियो ? भन्ने विषयमा प्रहरीले केही बोलेन, जबाफ दिन पनि आवश्यक ठानेन ।

मिलन सेक्सी एउटा प्रतिनिधि पात्र मात्रै हुन् । प्रहरीकै कारण उपत्यकालगायत देशभर पुनः अपराधमा फर्कने युवाको संख्या निकै छ । पछिल्लो समय निर्माण–व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याका मुख्य योजनाकार समीरमान बस्न्यात पनि प्रहरीकै कारण पुनः आपराधिक दुनियाँमा फर्किएका हुन् । राजधानीका डनहरूसँग राम्रो सम्बन्ध हुँदै पछिल्लो समय कुमार घैँटेसँग निकट रहेका बस्न्यात अपराध छाड्दा आफैँ मारिने अवस्था आएपछि पुनः आपराधिक दुनियाँमा फर्किएको प्रहरी अधिकृतकै बुझाइ छ ।

‘समीरमान अपराधबाट निकै टाढा पुगेको थियो, तर प्रहरीले इन्काउन्टर गर्न खोजेपछि भाग्नुप¥यो, सानी छोरी छाडेर विदेश भाग्नुपर्दा उसको दिमागमा झनै ठूलो अपराध गर्ने योजना बनेको देखिन्छ,’ शरद गौचन हत्याकाण्डको छानबिनमा गठित समितिका एक वरिष्ठ अधिकृत भन्छन् । ती अधिकृतका अनुसार डन कुमार घैँटेको इन्काउन्टरपछि प्रहरीले बस्न्यातलाई इन्काउन्टर गर्ने योजना बनाएको थियो । त्यो सूचना पाएपछि भाग्दै हिँडेका उनी दुई पटक बाल–बाल

इन्काउन्टरबाट बचेका थिए । प्रहरीको मार्ने योजनापछि उनी तीन महिनाकी छोरी छाडेर भारत भागेका थिए ।
‘मलाई केही नगर्दा पनि प्रहरीले इन्काउन्टर गर्न खोज्यो, अब म यिनीहरूलाई देखाइदिन्छु भन्दै उसले एकपछि अर्काे ठूलो अपराधको योजना बनाएको अनुसन्धानको क्रममा खुलेको छ,’ ती अधिकृतले भने, ‘समीरलाई दुई पटक इन्काउन्टर गर्न खोजियो, तीन महिनाकी छोरी छाडेर भारत गयो, त्यही कारण एग्रेसिभ भयो ।’ समीरमानलाई इन्काउन्टर गराउने योजनामा गौचनकै भूमिका रहेको बुझाइ थियो उनमा ।

प्रहरी स्रोतका अनुसार कुमार घैँटेले लगानी गरेको साढे दुई करोड रकमबारे गौचनलाई जानकारी गराई फिर्ता मागेपछि उनलाई प्रहरीले इन्काउन्टर गर्न खोजेको थियो । यही कारण उनी गौचनप्रति आक्रामक हुँदै रकम फिर्ता नदिए मारिदिने धम्की दिएका थिए ।

मनाङबाट प्रदेशसभामा निर्वाचित राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे, मिलन चक्रेसहित थुपै्रलाई डन बनाएर आपराधिक दुनियाँमा राखिराख्नुमा पनि प्रहरीकै भूमिका छ । ‘अपराध गरेपछि प्रहरीलाई पैसा बुझाउने गर्छन्, अपराध छाडेपछि पाइन्न भन्दै चर्चामा आउन गुन्डागर्दी छाडेकालाई पनि डन भनेर प्रचार गर्दै समातिन्छ, जसले व्यवसायतिर लागेका पनि पुनः अपराधकै दुनियाँमा फर्कन्छन्,’ महानगरीय प्रहरीका एक अधिकारी भन्छन् ।

रातारात धनी बन्ने सपना बोकेर अपराधमा लागेका युवाहरू यथार्थबोध भई सुध्रन चाहे पनि प्रहरीले दिने यातना र चर्चामा आउनका लागि गर्ने प्रचारबाट पुनः अपराधमै लाग्ने गरेको नेपाल प्रहरीकै अधिकृतहरू बताउँछन् । पुनः अपराधमा फर्कन बाध्य पार्नेमा चर्चामा आएकै प्रहरी अधिकृतहरू बढी जिम्मेवार रहेको उनको बुझाइ छ ।

 

प्रतिक्रिया