प्रभु लाइफले औपचारिक कारोबार सुरु


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीबारदेखि कारोबार सुरु गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीबी चापागार्इंले एक कार्यक्रमबीच सेवा शुभारम्भ गरेका हुन् । इमर्जिङ समूह, प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र अन्य व्यावसायिक समूहको लगानी रहेको प्रभु लाइफले बिमा बजारलाई ग्रामीण तहसम्म पु¥याउने लक्ष्य राखेको छ ।

कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले १० वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाव्य बजार धेरै भएकाले थप नयाँ बिमा कम्पनीलाई अनुमति दिएको बताए । उनले नयाँ बिमा कम्पनी सञ्चालनमा आउँदा थप रोजगारी पाउने र बिमा बजारलाई पनि विस्तार गर्न सघाउ प¥ुयाउने दाबी गरे ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संक्रमण सकिएको बताउँदै अर्थतन्त्रले समेत नयाँ उचाइ लिने र बिमा बजार पनि गतिशील हुने बताए ।

उनले प्रभु जीवन बिमा कम्पनीले जीवन बिमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । उनले भने, ‘हामी जीवन बिमा बजारमा केही नयाँ गर्न आएका हौँ । जीवन बिमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौँ ।’ त्यस्तै, कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बिमालाई गाउँसम्म पु¥याउने उद्देश्यसहित कम्पनी स्थापना भएको बताए । उनले भने, ‘हामी सहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौँ । गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बिमा पोलिसी ल्याउनेछौँ ।’

कार्यक्रममा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुखकार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो । २ अर्ब चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ४० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने जनाएको छ ।

प्रतिक्रिया