कम पारिश्रमिक दिएको भन्दै म्यादी प्रहरीद्धारा चक्का जाम

तिवारी यादव
वीरगञ्ज, २८ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पर्साबाट खटिएका म्यादी प्रहरीले घण्टाघर चोकमा चक्का जाम गरेका छन् । म्यादी प्रहरीले दिउँसो ३ बजेदेखि चक्का जाम गरेका हुन् ।

चुनावमा खटाइए वापत जिल्ला प्रहरी कार्यालय पर्साले कम पारिश्रमिक दिएको भन्दै म्यादी प्रहरीहरुले विरोध स्वरुप चक्का जाम गरेको एक म्यादी प्रहरी मनोज शाहले बताए ।

पहिलो चरण अन्तर्गत पहाडी र हिमाली जिल्लामा खटेका म्यादी प्रहरीहरुले ६२ हजार पाएको तर तराईका जिल्लामा म्यादी प्रहरीहरुलाई ४८ हजार दिने कुरा गरेपछि म्यादी प्रहरीहरुले बिहिबार जिल्ला प्रहरी कार्यालय पर्सामा गएर विरोध जनाएका थिए ।

दिउँसो १ बजे प्रहरीले लाठीचार्ज गरी आधा दर्जन म्यादी प्रहरीलाई घाइते बनाएपछि आक्रोशित बन्दै म्यादीले ३ बजे देखि घण्टाघर जाम गरेका हुन् ।

उनीहरुले पहिलो चरणमा वितरण भएको रकम अनुसार आफूहरूले पनि पारिश्रमिक पाउने माग राखेका छन् ।

पर्सा प्रहरीले म्यादीलाई कार्तिक ३ गते देखि नै खटाएको तर नियुक्ति पत्रमा कार्तिक १२ गते देखि काम गरेको गणना गरी ५५ दिनको पैसा ६२ हजार दिनु पर्नेमा १४ हजार रुपिया कम दिन लागेकोले विरोध गरेको अर्का म्यादी प्रहरी बिजय शाहले बताए ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले पहाड, हिमाल र तराईका जिल्लामा वितरण हुने राशनको रकम छुट्टाछुट्टै पाउने भएकोले पर्सामा वितरण हुने रकममा कम देखिएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया