३७ हात्तीको प्रयोग गरि देशभर बाघ गणना

काठमाडौँ, २८ मंसिर । नेपालमा ३७ वटा हात्तीको प्रयोग गरेर बाघ गणना भइरहेको छ । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणना यो वर्ष गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना गर्न लागेको हो ।

जसमध्ये चितवन १५, पर्सा ७, बाँके चार, बर्दिया ४ र शुक्लाफाँटामा ७ हात्तीको प्रयोग गर्न लागेको हो । नेपालको मुख्य बाघ पाइने क्षेत्र तराई नै हो । विभागले बाघ पाइने क्षेत्रलाई तीन तहमा विभाजन गरी गणना शुरु गरेको छ ।

जसमा चितवन र पर्सामा यही मंसिर १४ गतेदेखि, बाँके र बर्दियामा पुस १ गतेदेखि र शुक्लाफाँटामा केही दिनपछि बाघ गणना गरिने विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए ।

बाघ गणनाका लागि एक हजार ८८७ ग्रिड बनाई एक हजार २०० क्यामरा ट्रयापको प्रयोग गरिन्छ । यस्तै सन्टो कम्पास, रेन्ज फाइन्डर, जिपिएस, रेकर्डफमको समेत प्रयोग गरिने विभागले जनाएको छ ।

बाघ गणनाका लागि डब्लुडब्लुएफ नेपाल र जेड एसएल नेपाल लगायतका संस्थाले आर्थिक सहयोग गरेका छन् ।विभागले बाघ गणनाका लागि ६६ दिनसम्म दैनिक २५० कर्मचारी र रु तीन करोड २० लाख खर्च हुने अनुमान गरेको छ ।

बाघ गणनाका लागि विभागले गणना गर्ने व्यक्तिलाई तालिमसमेत दिएको छ ।

सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको सरकारका पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्रप्रमुखको सम्मेलनले हरेक पाँच वर्षमा बाघको गणना गर्ने निर्णय गरेको थियो ।

साथै सो सम्मेलनले सन् २०२० सम्म बाघको सङ्ख्या दोब्बर बनाउने निर्णय गरेअनुसार नेपालमा पनि बाघको संरक्षण र संवद्र्धन हुँदै आएको छ ।

नेपालमा सन् २००९ मा १२१ को सङ्ख्यामा रहेका बाघ सन् २०१३ मा १९८ पुगेको थियो ।

सन् २०१३ मा चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा राष्ट्रिय निकुञ्जमा सात र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए ।

विभागले सन् २००९ को तुलनामा सन् २०१३ मा बाघको सङ्ख्या ६५ प्रतिशत बढेको जनाएको छ ।

तराईमा १७ प्रतिशत भूभागमा पाटे बाघ, पहाडको ६८ प्रतिशत भूभागमा थोप्ले बाघ र हिमालको १५ प्रतिशत भूभागमा हिउँ चितुवा पाइन्छ । विश्वमा झण्डै चार हजार हाराहारीमा बाघ रहेका छन् ।

विश्वका बाघ पाइने मुलुकमा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा पर्छन् । त्योमध्ये सबैभन्दा धेरै बाघ पाइने मुलुक भारत हो ।

बाघ गणना नतिजाबाट दुर्लभ तथा लोपोन्मुख प्रजातिको बाघ संरक्षणको अवस्था थाहा पाई संरक्षण र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन थप मद्दत पुग्ने विश्वास सरकारले लिएको छ ।

प्रतिक्रिया