समानुपातिकको परिणाम आएलगत्तै नयाँ सरकार

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षमा दुईतिहाइ ल्याएका वाम गठबन्धनले समानुपातिक तर्फको मतपरिणाम आउनसाथ सरकार गठनको प्रक्रिया अगाडि बढाउने भएका छन् । प्रतिनिधिसभाका प्रत्यक्षतर्फका कुल एक सय ६५ मध्ये एक सय १६ सिट जित हासिल गरिसकेका वाम गठबन्धनले सरकार गठनको गृहकार्य थालेका हुन् ।

तत्काल आन्तरिक गृहकार्य र विजयी जुलुसमा अधिकांश नेता रहेकाले समानुपातिकतर्फको मतपरिणाम आएपछि मात्र सरकार गठनको प्रक्रिया अगाडि बढाउने भएका हुन् । एमाले र माओवादीबीच यसअघि नै चुनावी कमान्डर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ । संविधानअनुसार बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् हुने व्यवस्था भएकाले दलहरूले छानेर मात्र मन्त्री बनाउने तयारी पनि गरिरहेका छन् ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ६०÷४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रले सरकारमा पनि त्यही अनुसारको भागबन्डा गर्ने तयारीमा जुटेका छन् । दुवै दल मन्त्री बन्ने नेताको छनोट गर्ने अनौपचारिक आन्तरिक तयारीमा जुटिरहेका छन् ।

‘अहिले सरकार गठनको सामान्य छलफलमा छौँ,’ एमाले सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘एक÷दुई दिनभित्र समानुपातिकको नजिता आउनासाथ सरकार गठनको प्रक्रियालाई तीव्रता दिने छौँ ।’ समानुपातिकमा एमाले पहिलो रहेको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ । संविधानअनुसार प्रत्यक्ष निर्वाचनको अन्तिम मतपरिमाण घोषणा भएको ३० दिनभित्रमा सरकार गठन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

सचिव ज्ञवालीले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा चुस्तदुरुस्त सरकार बन्ने बताए । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्ने बताइसकेका छन् । ‘ओलीको नेतृत्वमा सरकार बन्ने कुनै द्विविधा छैन’ उनले भने, ‘घोषणापत्रमा उल्लेख गरेअनुसार काम गर्नका लागि चुस्त सरकार रहन्छ ।’ गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव ज्ञवालीले ५ वर्षभित्र मुलुकलाई अल्पविकसितबाट माथि उकास्ने गरी काम गर्न सक्ने टोली मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको जानकारी दिए । स्थिर सरकारमा काम गर्ने योग्य नेतालाई एमालेले पठाउने आन्तरिक तयारी रहेको छ ।

यता, वाम गठबन्धनको अर्को दल माओवादी केन्द्रले पनि सरकार गठन र पार्टी एकीकरणलाई सँगसँगै अघि बढाउने बताएको छ । पहिला सरकार गठन गर्ने लक्ष्य भए पनि पार्टी एकताका विषयमा सँगसँगै कुरा हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । ‘सरकार गठन र पार्टी एकताका विषयमा सबै नेता राजधानी आइसकेपछि सुरु हुनेछ, हामीले पहिला नै घोषणा गरेअनुसार अघि बढ्नेछौँ’ उनको भनाइ छ ।

सरकार गठनको तयारीमा रहेको एमालेले कांग्रेस नेतृत्वका सरकारलाई कुनै पनि राजनीतिक नियुक्त नगर्न अल्टिमेटम दिइसकेको छ । एमालेबाट महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लालबाबु पण्डितजस्ता नेता सरकारमा जाने चर्चामा रहेका छन् । माओवादी केन्द्रबाट भने वर्षमान पुन, कमला रोक्का, पम्फा भुसाल, चक्रपाणि खनाल, प्रभु शाहजस्ता नेता मन्त्रिमण्डलमा जाने चर्चा रहेको स्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया