चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता

सौर्य समाचार
काठमाडौं, २६ मंसिर । काम चलाउ सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लगत्तै चलचित्र विकास बोर्डको अध्यक्षमा एनएफडिसीकी प्रमुख निकिता पौडेललाई नियुक्ति गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पौडेललाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । चलचित्र निर्मात्री, गोपीकृष्ण हलकी सञ्चालिका तथा राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष उद्धव पौडेलकी सुपुत्री निकितालाई २ वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको हो ।

सरकारले निर्वाचन आचारसंहिताका कारण जेठमा सकिएको बोर्डका अध्यक्ष राजकुमार राईको कार्यकालपछि अहिलेसम्म अध्यक्ष नियुक्ति गरेको थिएन । उनको नियुक्तिमा आर्थिक चलखेल भएको कतिपय चलचित्रकर्मीले आरोप लगाएका छन् ।

यसैबीच एमालेले कामचलाउ सरकारले गरेको नियुक्ति कानुनविपरीत रहेको जनाउँदै यसलाई नमान्ने संकेत गरेको छ । सरकारले निकितालाई सोमबार नै नियुक्तिपत्र दिने तयारी गरेको छ ।

प्रतिक्रिया