बैसाखी नै जिउने सहारा

सञ्जिता आचार्य
काठमाडौं, २६ मंसिर । राजधानीको मुटु मानिने रत्नपार्क र आसपासका क्षेत्र २४सै घण्टा मानिसहरूको भिडले भरिएको हुन्छ । सडकको अस्तव्यस्ततामा रुमलिँदै हजाराँै मानिस आ–आफ्नै गन्तव्यमा पुग्न दौडधुप गरिरहेका हुन्छन् ।

यही भिडभाड र धुलो धुँवासँग रुमलिँदै यात्रा गर्ने हजारौँ मान्छेबीच सिन्धुपाल्चोकका मानबहादुर तामाङ भने बैसाखीको सहारामा जीवन जिउन हात फैलाइरहेका हुन्छन् । उनका लागि जीवन धान्ने एक मात्र विकल्प भनेको मागी खानु हो ।

धुलोमैलोले उनले लगाएको कपडामा पनि छुट्याउन मुस्किल पर्छ । ठाउँठाउँमा च्यातिएको त्यही कपडाले आफ्नो शरीर ढाकेका तामाङ मंसिरको कठ्याङग्रिने जाडोलाई जेनतेन धानिरहेका छन् ।

जाडो, गर्मी केहीको पर्वाह नगरी उनी हरेक दिन झुल्के घामदेखि नअस्ताउन्जेलसम्म सडकमै दैनिकी गुर्जाछन् । अहिलेसम्म उनको दैनिकी पनि यसैगरी चलिरहेको छ । ६० वसन्त पार गरिसकेका उनका लागि यो समय नातानातिनी खेलाउँदै बस्ने हो ।

आफ्ना छोराछोरीबाट हेरचाह हुनुपर्ने उनको दैनिकी सडकको बासमा बितिरहेको छ । उनको जीवनमा न छोराछोरी सहारा बने न त आफ्नी अर्धांगिनी नै ।
अग्नि साक्षी राखेर आफ्नो जीवन साथी बनाएकी उनी श्रीमतीले उनलाई यो संसारबाट ३० वर्ष अघि नै छाडेर गइसकिन् । तामाङ दम्पतीबाट कुनै जायजन्म नै नभएकाले श्रीमतीले छाडेर गएपछि तामाङ यो दुनियाँमा एक्लो बने ।

उनी रहरले सडकमा मागी खान आएका भने होइनन् । आफ्नो बल, बैँस हुन्जेल उनले पाखुरा बजारेरै खाएका थिए । तर, दुःखीको कर्मै खोटो भने झै रत्नपार्कमै बाटो क्रस गर्दै गर्दा केही वर्षअघि एउटा बसले ठक्कर दिएपछि उनी गम्भीर घाइते भए । जसका कारण उनका खुट्टा राम्रोसँग चल्न नसक्ने भए ।

उक्त घटनापछि उनी तन्दुरुस्त हुन सकेनन् । जसले गर्दा उनलाई सडकमा मागी खाने बनायो । त्यसअघि, भने उनी रत्नपार्क क्षेत्रमै फलफूल व्यापार गर्दै आएका थिए । खुट्टै नचल्ने भएपछि उनको व्यापार गरी खाने बाटो हराएको थियो ।
अहिले उनी त्रिपुुरेश्वरमा कोठा भाडामा बस्छन् ।

यसका लागि सम्पूर्ण खर्च दिनभरि सडकमा मागेको पैसाले नै पु¥याउनुपर्छ । मागेकै भरमा खानेबस्ने खर्च जुटाउनु उनका लागि कष्टकर जीवन जिउनु पनि हो । कहिलेकाहीँ मागेको पैसाले कोठा भाडा तिर्न नपुग्दा धेरै पटक सडकको बास पनि भएको छ । एक्लो जीवन बिताइरहेका तामाङको साहारा भनेको बैसाखी मात्रै हो ।

यसबाहेक छाया पनि उनको साथीको रूपमा रहने गर्छ । त्यो पनि घाम लागेको र कुनै एउटा दिशाबाट आउने प्रकाश हुँदा मात्र हुन्छ । त्यसैले उनी भन्छन्,‘बाँचुन्जेल साथ दिने भनेको आफ्नै छायाले मात्र हो ।’

 

प्रतिक्रिया