६ वटा प्रदेशमा बाम गठबन्धनको शानदार जित

काठमाडौं २६ मंसिर । प्रत्यक्ष प्रतिनिधिसभाका लगभग सबै परिणाम आउँदा वाम गठबन्धन दुई तिहाईमा पुग्न सफल भएका छन् । वाम गठबन्धनले प्रत्यक्षतर्फ घोषित १ सय ५५ मध्ये १०८ स्थानमा जित निकालेका छन् । एमाले ७३ सिटका साथ पहिलो, माओवादी केन्द्रले ३५ सिटमा जित निकाल्दै दोस्रो दल भएको छ । संघीय संरचनामा मुलुक प्रवेश गरेपछि पहिलोपटक भएको संसदीय चुनावमा यसअघि, ठूलो दल बनेको नेपाली कांग्रेस भने तेस्रो स्थानमा खुम्चिएको छ ।

नेपाली कांग्रेसले २१ स्थानमा चित्त बुझाएको छ भने यो समचार तयार पार्दासम्म संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले १०/१० स्थानमा जित निकालेका छन् । राप्रपा, नया शक्ति नेपाल, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक/एक सिट जितेका छन् ।

प्रतिनिधिसभा सिटका लागि सबै प्रदेशमा शानदार जित निकालेका वाम गठबन्धन दुई नम्बर प्रदेशमा भने ४ सिटमा खुम्चिएका छन् । दुई बाहेकका अन्य प्रदेशमा भने एमाले एक्लै पनि र माओवादीको साथको गठबन्धन निकै बलियो देखिएको छ ।

प्रदेशगत हिसाबमा हेर्ने हो भने एमाले सबैमा बलियो हैसियतमा रहेको छ । प्रदेश नम्बर एकमा एमालेले १६ सिट जित्दा माओवादी केन्द्र ५ सिट जित्दै दोस्रो र ४ सिट जितेको नेपाली कांग्रेस तेस्रो स्थानमा छ । जहाँबाट राप्रपाले पनि एक सिट जितेको छ । वाम गठबन्धनको साथ पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन झापा ३ बाट विजयी भएका हुन् ।

प्रदेश नम्बर २ मा भने वाम गठबन्धनका दुवै दलले ३२ सिटमध्ये केवल ६ सिट जितेका छन् । सो प्रदेशमा मधेसवादी दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । फोरमले ९ सिट जित्दा राजपाले पनि ९ सिटमा जित हासिल गरेको छ । आफ्नो पकड क्षेत्र मान्दै आएको नेपाली काग्रेसले भने केबल ५ सिटमा चित्त बुझाएको छ ।

प्रदेश नम्बर ३ मा भने ३३ मध्ये एमाले एक्लैले २० सिट जितेको छ । माओवादी केन्द्रले ७ सिट जित्दा कांग्रेसले ५ सिट जितेको छ । कांग्रेसले ५ मध्ये ४ सिट काठमाडौंमा जितेको हो । भक्तपुर जिल्लाको एक सिटमा नेमकिपाले जित हासिल गरेको छ । जसका कारण उसलाई राष्ट्रिय पार्टी बन्ने बाटो खुलेको छ ।

प्रदेश नम्बर ४ का १८ मध्ये वाम गठबन्धनले १६ सिटमा जित हासिल गरेको छ । जसमा एमालेले एक्लै ११, माओवादी केन्द्रले ३ सिटमा विजयी हासिल ग¥यो । सो प्रदेशमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका शशांक कोइरालाले जित निकाल्दै स्विप आउट हुन दिएनन् । त्यहाँ कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले पनि एक सिट जितेका छन् । स्याङजामा भने यो समचार तयार पार्दासम्म मतपरिणाम घोषणा भएको छैन ।

प्रदेश ५ पनि वाम गठबन्धनको उपस्थिति निकै बलियो छ । उसले त्यहाँ १९ सिट जितेको छ । एमालेले १२ सिट जित्दा माओवादी केन्द्रले ६ सिट जितेको छ भने दुवै दलको समर्थन पाएको राष्ट्रिय जनमोर्चाले एक सिटमा जित हासिल गरेको छ । कांग्रेसले सो क्षेत्रमा ५ सिट जित्दा संघीय समाजवादी फोरम नेपालले एक सिट जित्न सफल भयो । कञ्चनपुर ३ को परिणाम अझै आएको छैन ।

कांग्रेस ६ नम्बर प्रदेशमा भने सिटविहीन अवस्थामा पुगेको छ । १२ सिट रहेको प्रदेश ६ मा एमाले र माओवादी केन्द्रले ११ जितेका छन् । जसमा एमालेले ६ र माओवादीले ५ सिटमा जित हासिल गरे । हुम्लाबाट भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यसैगरी, प्रदेश नम्बर ७ मा भने कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा विजयी हासिल गर्दै एक सिट मात्र आफ्नो पक्षमा ल्याएका छन् । १६ मध्ये बाँकी सबै सिटमध्ये १३ सिटमा वाम गठबन्धनले जित निकालेको छ । सो प्रदेशमा एमालेले १० सिट जित्दा माओवादी केन्द्रले ३ सिटमा जित हासिल गरेको छ । दुई स्थानको परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया