खेल-खेलाडी

अनिशा प्रोफेसनल फाइटमा च्याम्पियन

सौर्य अनलाइन २०७४ मंसिर २५ गते १०:४२ मा प्रकाशित

काठमाडौं २५ मंसिर । कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी अनिशा खड्काले प्रोफेसनल फाइटको उपाधि जितेकी छन् । आइतबार भएको महिला ६७ केजी तौल समूहमा आयोजक कम्बोडियाकी पुथ थावेलाई पराजित गर्दै अनिशाले प्रोफेसनल फाइटको उपाधि जितेकी हुन् ।

कुन खेमरको प्रोफेसनल विधामा प्रतिस्पर्धा गरेकी अनिशाले ५ राउन्डको खेलमा थावेलाई अंकका आधारमा पराजित गरेकी हुन् । खेलको सुरुदेखि नै आक्रामक देखिएकी अनिशाले ५ राउन्डसम्म त्यही आक्रमकतालाई जारी राख्दै च्याम्पियन भइन् ।

अनिशाले गत मार्चमा थाइल्यान्डमा भएको १४औँ विश्व मुवाँथाई च्याम्पियनसिपअन्तर्गत एमेच्योरमा स्वर्ण जितेकी थिइन् ।

मुवाँथाईको प्रोफेसनल विधामा नेपालले पहिलोपटक स्वर्ण जितेको नेपाली टोलीका प्रशिक्षक एवं नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।

उनले केही संघले विदेशमा खेलाडी लगेर राष्ट्रकै बेइज्जत गराइरहेको अवस्थामा आफ्ना खेलाडीले भने उत्कृष्ट नतिजा दिइरहेको बताए ।

च्याम्पियनसिपअन्तर्गत एमेच्योरतर्फ नेपालका राहुल थोकर लामाले शनिबार पुरुष ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनले आयोजक कम्बोडियाका सामनाङ पिसेथलाई नकआउट गर्दै राहुलले स्वर्ण पदक जितेका थिए ।

प्रतियोगितामा आइतबार नै एमेच्योरतर्फको पुरुष ६५ केजी तौल समूहमा नै प्रतिस्पर्धा गरेका सशिन्द्र रञ्जित र ७१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सलोन सारा लेप्चा जैसीले भने पराजय बेहोरे ।

उनीहरू दुवै आयोजक कम्बोडियाका खेलाडीसँग अंकका आधारमा पराजित भए । कम्बोडियामा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी हुन नेपाली टोली गत बिहीबार कम्बोडिया प्रस्थान गरेको थियो ।

 

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय