गुरुङले जिते लमजुङेली मन

पोखरा, २४ मङ्सिर । माओवादी केन्द्रका नेता देव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी प्रतिस्पर्धी कांग्रेसका दिलबहादुर घर्तीलाई ८ हजार सय ४ सय ३४ मतान्तरले हराउँदै विजयी भएका हुन् । उनले ३९ हजार ४ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ३४ मत प्राप्त गरे ।

लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन् । देव गुरुङले यसअघि २०६४ को संविधानसभामा मनाङ र कास्की–१ बाट माओवादीको तर्फबाट विजयी भएका थिए । गुरुङ माओवादीको सचिवालय सदस्य एवं पूर्व स्थानीय विकासमन्त्री, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्रीसमेत हुन् । ०३६ देखि नै राजनीतिमा लागेका गुरुङ ०४२ मा अखिल छैठौंको अध्यक्ष बनेका थिए ।

लामो समयदेखि नै माओवादीको केन्द्रीय नेतृत्वमा रहेका गुरुङ जनयुद्ध थालनी भएको केही समयपछि नै गोरखाबाट गिरफ्तार भए । रुकुमको महतको चौकी जनमुक्ति सेनाले कब्जा गर्दा कब्जामा परेका डीएसपी ठूले राईलाई छोड्दा गुरुङलाई छाडिएको थियो । उनी पछिल्लोपटक भएको माओवादी सरकार वार्ताटोलीको सदस्यसमेत थिए ।

अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा उनी माओवादी विधायकका संसदीय दलको उपनेता हुन् । यसैगरी गुरुङ अन्तरिम संविधान निर्माण गर्ने टोलीमा पनि संलग्न थिए । उनले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने प्रतिस्पर्धा गरेनन् । उनी त्यतिबेला मोहन वैद्य ‘किरण’ले नेतृत्वको पार्टीमा लागेका थिए । उनको पार्टीले त्यतिबेला संविधानसभा निर्वाचन बहिस्कार गरेको थियो ।


यस्तै लमजुङको प्रदेश सभा ‘१’ मा पनि एमाले उम्मेदवार धनञ्जय दवाडी विजयी भएका छन् । उनी २० हजार २ सय ४४ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका गर्जबहादुर गुरुङले १३ हजार ८ सय ४३ मत प्राप्त गरे । लमजुङको प्रदेशसभा ‘२’ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।

उनी ८ हजार ६६ मतान्तरले विजयी भएका हुन् । गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत पाएका छन् । पृथ्वीसुब्बा गुरुङलाई प्रदेश नम्बर ४ को सम्भावित मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ । उनी नेकपा एमालेका केन्द्रीय सचिव समेत हुन् ।

प्रतिक्रिया