चितवनमा शुक्रबार ९ बजेपछि मतगणना

चितवन २२ मंसिर । चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना विहिबार बिहानदेखि शुरु हुँदैछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग बिहीबार साँझ बसेको सर्वदलीय बैठकले शुक्रबार बिहान ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए ।

चितवनको विकट क्षेत्रका मतपेटिका ल्याउन समय लागेकाले शुक्रबार मतगणना हुन नसकेको हो । उनका अनुसार चितवनको पहाडी क्षेत्रका मतपेटिका आउन राति अबेरसम्म लागेको थियो ।

यसपटक भरतपुरस्थित चितवन माविको भवनमा मतगणना हुने शर्माले जानकारी दिए । विगतको दुईवटा संविधानसभा निर्वाचनमा पनि सोही स्थानमा मतगणना भएको थियो ।

स्थानीय तहको निर्वाचनको मतगणना भने भरतपुरको कभर्डहलमा गरिएको थियो ।

कभर्डहलमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मतपत्रको सुरक्षालाई मध्यनजर गरी यहाँ तारजाली लगाएर गणनास्थल बनाइएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

उनका अनुसार तीनवटा निर्वाचन क्षेत्रको नौ स्थानमा मतगणना हुनेछ । यसपटक मतगणनामा कर्मचारी भने सबै महिला राख्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत शर्माले भने, “हाम्रो तर्फबाट गणक महिला छानिसकिएको छ, दललाई पनि महिला राख्न आह्वान गरिएको छ, सकेसम्म महिला नै राख्ने प्रयासमा छौँ ।”

शर्माले अहिले मतगणनास्थल भरतपुरको चितवन माविमा आवश्यक सिसी क्यामेरा, इन्टरनेट तथा बत्तीको व्यवस्थापन गरिएको जानकारी दिए । चितवनमा करिब ७० प्रतिशत मतदान भएको छ । तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता थिए ।

कपिलवस्तुमा पनि बिहानदेखि मतगणना शुरु हुने

जितपुर, कपिलवस्तु, अहिले सर्वदलीय बैठक बसिरहेको र बैठक सकिएलगत्तै विहानैदेखि मतगणना शुरु हुने जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अधिकृत ज्ञानहरि घिमिरेले जानकारी दिए ।

बिहीबार जिल्लाको पश्चिमी क्षेत्र विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाबाट मतपेटिका सदरमुकाम ल्याउन ढिला भएको कारण शुक्रबार मतगणना ढिला शुरु हुने भएको हो ।

प्रतिनिधिसभा सदस्यका तीन र प्रदेशसभाका ६ क्षेत्र रहेको कपिलवस्तुमा मतगणना सदरमुकाम तौलिहवाका दुई छुट्टाछुट्टै विद्यालयमा गरिनेछ ।

जिल्ला निर्वाचन अधिकृत घिमिरेका अनुसार निर्वाचन क्षेत्र नं १ र ३ को बुद्ध पद्म मावि र क्षेत्र नं २ को तौलेश्वर संस्कृत माविमा गणना गरिनेछ ।

यसपटकको मतगणना गर्दा सिसिटिभी जडान गरिने भएको छ । प्रत्येक कोठामा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्रत्येक कोठामा सातजना कर्मचारी ८ घण्टाका दरले काम गर्नेसमेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कतिपय जिल्लामा मतगणनाको तयारीमा तारजाली लगाउने क्रम शुरु भएका बेला कपिलवस्तुमा भने तारजाली नराखी गणना गरिने बताइएको छ ।

यहाँ ७० प्रतिशत मत खसेको र मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको घिमिरेले जानकारी दिए । जिल्लामा २३३ मतदानस्थलमा ४१० केन्द्रबाट मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

कूल तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लामा तीन लाख ११ हजार ७६० मतदाता रहेका छन् । प्रतिनिधिसभाको तीन र प्रदेश सभाको ६ निर्वाचन क्षेत्रबाट १८१ उम्मेदवार चुनावी मैदानमा छन् ।

इलाममा विहान १० बजेदेखि

इलाम, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाका लागि इलाम सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बेलुकासम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइपुगेकाले शुक्रबार बिहान १० बजेदेखि मतगणना कार्य शुरु गरिने मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।

मतगणनाका लागि इलामको नवनिर्मित मालपोत कार्यालयमा व्यवस्थापन गरिएको छ । मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना कार्य शुरु गरिने उनले बताए ।

मतगणनास्थलमा तारबारको व्यवस्थापन गरिएको छ । तीन मतदान केन्द्रको बढीमा तीनवटा मतपेटिकामा भएका मतपत्र मिलाएर गणना गर्ने बताइएको छ ।

इलाम जिल्लामा दुई प्रतिनिधिसभा, चार प्रदेशसभा क्षेत्र रहेका छन् । क्षेत्र नं १ र २ को छुट्टाछुट्टै मतगणना कार्यको व्यवस्था मिलाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न गरेर परिणाम घोषणापछि मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य प्रारम्भ गरिनेछ ।

त्यसरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधिसभाको दुई स्थानमा र प्रदेश सभाको चार स्थानमा गरी पहिलो चरणमा छ स्थानमा मतगणना हुने जनाइएको छ ।

दुई लाख चार हजार ४६ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभामा दुई क्षेत्रमा विभिन्न राजनीतिक दलका १८ र चार प्रदेशसभा क्षेत्रमा ३३ गरी ५१ जना उम्मेदवारले मनोनयन गरी चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया