कलामा भूकम्पको कहर

art_G1HGaLmReFललितपुर १९ भदौ । ०७२ को भूकम्पको त्रासदीले नेपालीलाई लामो समयसम्म प्रभाव पारेको छ । भूकम्पले निकै क्षति पु¥याएको सिन्धुपाल्चोकको सिपापोखरेबारे कलाकारले तयार पारेका कला प्रदर्शनीमा राखिएको छ । २० जना कलाकार, कवि, मानवशास्त्री तथा कला अभियन्ताहरूले सिपापोखरे पुगेर त्यहाँका जनतासँगको अनुभव र वातावरणलाई आधार रचना गरेका कलालाई प्रदर्शनीमा राखिएको हो ।  नेक्सस कल्चर सेन्टर बखुण्डोलमा ती कलाको प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा फोटोग्राफर अभिषेक साहले त्यहाँको दैनिक जीवनलाई समेटेका छन् । कलाकार अश्मिना रञ्जित र श्रवण महर्जनले प्रतिस्थापन कलामार्फत सिपापोखरेको यथार्थतालाई कलात्मक रूपमा उतारेका छन् ।  यी कलाकारले दैनिक जीवनका दुःख, पीडा र दिनचर्यालाई कलामा समेट्दै मानवीय उत्तरदायित्वलाई चित्रण गरेका छन् । अर्का यज्जु मानन्धरले ध्वनिमार्फत सिपापोखरेलाई प्रस्तुत गरेका छन् । कुञ्जन तामाङले पनि पानी र ध्वनिको मिश्रित रूप कलामा ल्याएका छन् । कलाकार तथा कला लेखक केशवराज खनालले सिपापोखरेको दृश्यचित्र क्यानभासमा प्रस्तुत गरेका छन् भने डिजिटल प्रविधिको प्रयोग गरी बदलिएको सिपापाखरेलाई कलात्मक रूपमा उजागर गरेका छन् ।

प्रदर्शनीमा दलित र जनजाति समुदायका आन्तरिक भोगाइ र सामाजिक अवस्थालाई समेत कलाकारले प्रस्तुत गरेका छन् । साथै प्रदर्शनीमा सहभागी कलाकारहरूले आफ्ना भोगाइ र बुझाइलाई पुस्तकमा समेत प्रकाशन गरेका छन् ।  पुस्तक स्क्रिन प्रिन्टबाट तयार पारिएको छ । पुस्तक बिक्रीबाट आउने रकम सिपापोखरेका बालबालिकाको शिक्षा र कला अभियानमै लगाउने आयोजक अस्मिना रञ्जितले जनाइन् । ४ महिनाअघि सुरु गरिएको ‘रिबिल्डिङ रिक्याप्चर’ कार्यशालालाई प्रदर्शनी गरिएको रञ्जितले जानकारी गराइन् । कार्यशालामा सहभागी नेपाल, नेदरल्यान्ड, बंगलादेश र भारत २० जना कलाकारले तयार पारेका कला प्रदर्शनीमा राखिएको छ । ६ भदौबाट सुरु भएको सो प्रदर्शनी १९ गतेसम्म रहने आयोजकले जनाए ।

प्रतिक्रिया