सरिता र ऋषिको ‘परिचय’ आइतबारबाट

parichayaकाठमाडौं १४ भदौ । १० वर्षपछि ऋषि लामिछानेको निर्देशन र सरिता लामिछानेको अभिनय रहेको टेलिसिरियल ‘परिचय’ नेपाल टेलिभिजनबाट फेरि प्रसारण हुने भएको छ । आइतबार प्रसारण हुने सो सिरियलमा अभिनेता सरोज खनाल २३ वर्षपछि सानो पर्दामा देखिएका छन् ।  सिरियलले नै आफूलाई परिचित गराएकाले यसबाट टाढा रहन नसक्ने सरिताले बताइन् । ‘सिरियल मेरो प्राण हो त्यसैले, हामी नयाँ सिरियल सुरु गर्ने तयारीमा पहिलेदेखि नै थियौँ । शुभचिन्तक तथा दर्शकको भावनालाई सम्मान गर्दै ‘परिचय’ सिरियललाई पुनर्जन्म दिएका हौँ,’ सरिताले बताइन् ।

सिरियल नयाँ कथामा आधारित रहेको बताउँदै निर्देशक लामिछानेले भने, ‘नाम पुरानो दिए पनि यसको कथा बिल्कुल नयाँ रहेको छ ।’ ‘हाम्रो समाजमा सबैले आआफ्नो परिचय खोजिरहेका छन् । आफ्नो परिचय खोज्ने तिनै पात्रहरूको कथामा यो सिरियल बनेको छ । साथै, हरेक परिवारमा देखिने द्वन्द्वसमेत यसमा समेटिएको छ’, उनले थपे । एकताका ‘परिचय’ टेलिसिरियल नेपाल टेलिभिजनको १ नम्बर रेटिङमा रहेको थियो ।

१ सय ४१ भाग लामो यो सिरियल ४ वर्षसम्म चलेको थियो । यो सिरियलमा वर्षा राउत, मिस टिन जस्मिन खड्का, कविता शर्मा, डिबी भोम्झन, सुनील कटुवाल, गौरव प्रभाषलगायत कलाकारको अभिनय रहने निर्देशक लामिछानेले जनाए । हरेक साताको आइतबार नेपाल टेलिभिजनबाट ८ः५० मा यो सिरियल प्रसारण हुनेछ ।

प्रतिक्रिया