राईको उपचार हरिसिद्धीमा

shantaललितपुर १४ भदौ । कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ शान्तकुमार राई दिल्लीस्थित अपोलो अस्पतालबाट उपचार गराई नेपाल फर्केका छन् । हाल उनको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । अचानक पेटमा पानी जमेपछि राई साउनको तेस्रो साता पुल्चोकस्थित अल्का अस्पतालमा उपचार गराउन पुगेका थिए । एक हप्ता अल्कामा उपचार गराएका राई थप उपचारका लागि २८ साउनमा दिल्लीस्थित अपोलो अस्पताल गएका थिए ।

राईको माथिल्लो पेटमा पानी जमेको र पेन्क्रियाजमा मासु पलाएको समस्याका कारण अस्पतालमा भर्ना भएका थिए । यसैबीच, राईलाई नेपाल आधुनिक कलाकार समाज (सोमा) ले सोमबार ५० हजार आर्थिक सहयोग गरेको कलाकार जीवन राजोपाध्यायले बताए । अस्पतालमा पुगी सोमाका अध्यक्ष अग्रज कलाकार शंकरराज सिंह सुवालले सहयोग रकम हस्तान्तरण गर्दै दुःख परेको बेला सबै कलाकारलाई सक्दो सहयोग गर्दै आएको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ०६६ सालमा प्राज्ञपरिषद्मा नियुक्त भएका राईले नेपाल तथा विश्वका विभिन्न देशमा कला प्रदर्शनी गरेका छन् । साथै दर्जनाैँ कला कार्यशालाको संयोजन गर्दै नेपाली कलाकारलाई देशविदेशमा लगेका छन् । ५६ वर्षीय राई नेपाल आर्ट काउन्सिल, आधुनिक कलाकार समाज (सोमा), नेपाल ललितकला मञ्चलगायत आधा दर्जन कलासम्बन्धी संघ संस्थामा आवद्ध छन् ।

प्रतिक्रिया