बंगलादेशमाथि नेपालको रोमाञ्चक जित

main newsकाठमाडौं १४ भदौ । नेपाली पुरुष भलिबल टोलीले मैत्रीपूर्ण भलिबलमा बंगलादेशमाथि रोमाञ्चक जित निकालेको छ । मंगलबार ललितपुर लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा नेपालले बंगलादेशमाथि ३–१ को सेटमा जित निकाल्यो । सुरुआती सेट गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीनै सेट आफ्नो पक्षमा पार्दै पहिलो मैत्रीपूर्ण खेलमा जित निकाल्यो । पहिलो सेटको सुरुआतदेखि नै नेपालले दबाब बनाइराखे पनि अन्ततः २७–२५ को प्रतिस्पर्धा सेट गुमायो । पहिलो सेटको सुरुआतीदेखि नै नेपालको रिसिभ बिर्सनलायक बन्यो । तथापि, नेपालले दोस्रो सेट २५–१७ र तेस्रो २५–१६ ले आफ्नो पक्षमा पार्दै सेटमा २–१ अग्रता बनायो ।
चौथो सेटमा नेपालको सुरुआत राम्रो भएन । तर, नेपालले पटकपटक ४ र ३ स्कोरको अग्रता बनायो । यद्यपि, गेम पोइन्ट नजिक पुग्दा भने नेपाली टोलीलाई पाहुना टोलीले चुनौती दियो । यद्यपि, १९–२१ ले पछिपरेको स्थितिमा नेपाली टोलीले खेल उल्टाउँदै चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै पहिलो मैत्रीपूर्ण खेलमा जित निकाल्यो । यससँगै नेपाली टोलीले यसअघि बंगलादेशमा बेहोरेको हारको बदलासमेत लिएको छ । ललितपुर लगनखेलस्थित आर्मीको कभर्ड हलमा नेपालको जितमा कुलबहादुर थापाले सर्वाधिक २१ स्कोर गरेका थिए । नेपालको जितमा हरि अधिकारीले १३, मानबहादुर श्रेष्ठले १२ र इम रानाले ९ अंक गरेका थिए । बंगलादेशका लागि होरोसितले १८ अंक जोडेका थिए । नेपाली भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले नेपालले ब्लक र रिसिभमा सुधार गरेका कारण सफलता हासिल गरेको बताए ।
उनले नेपालको विगतभन्दा कमजोर पक्षलाई सुधार गरेका कारण जित हासिल गरेको प्रतिक्रिया दिए । उनले भने, ‘हामी खुसी छौँ । खेलाडीले राम्रो खेले । सुरुआतमा नेगेटिभ अंक धेरै दिएकोले पनि अफ्ठ्यारो भएको थियो । अझै पनि सर्भिसमा सुधार गर्नु पर्नेछ । तर, आज जितले बुधबार जित हासिल गर्न हौसला बढाएको छ ।’ बंगलादेशका प्रशिक्षक अली पोउरले नेपालको स्तर विगत भन्दामाथि भएको बताए । उनले भने, ‘हामीले मैत्रीपूर्ण खेललाई नयाँ खेलाडीलाई मौका दिने अवसरको रूपमा लिएको छौँ । आज मैले धेरै खेलाडीलाई खेलाए । त्यसले उनीहरूको अनुभव बढाउनेछ । हामीले ब्लकमा नेपाललाई रोक्न सकेनौँ । त्यसले हामीलाई खेल हार्नु पर्ने अवस्थामा लग्यो ।’ नेपाल र बंगलादेशले अब बुधबार लगनखेलमै दोस्रो मैत्रीपूर्ण खेलमा खेल्नेछन् ।

प्रतिक्रिया