अस्ट्रेलिया बलियो स्थितिमा

austrailia baliyoढाका १४ भदौ । पाहुना टोली अस्ट्रेलिया घरेलु टोली बंगलादेशसँगको पहिलो टेस्ट क्रिकेटमा जित नजिक पुगेको छ । घरेलु टोली प्रस्तुत गरेको २ सय ६५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ विकेटको क्षतिमा १ सय ९ रन बनाएको छ । शेर बंगला नेसनल स्टेडियममा अस्ट्रेलिया तेस्रो दिन नै अस्ट्रेलिया जित नजिक पुगेको छ । उसका लागि डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ७५ रन बनाए । वार्नरले ११ चौका र १ छक्का प्रहार गरे । कप्तान स्टेभन स्मिथले अविजित २५ रन बनाए ।
पाहुना टोली छिट्टै २ विकेट गुमाएपछि पारी वार्नर र कप्तान स्मिथले समालेका थिए । तेस्रो विकेटका लागि यो जोडीले ८१ रनको साझेदारी बनाए । अस्ट्रेलियाको खातामा २८ रन हुँदा २ विकेट गुमिसकेको थियो । तर, वार्नरले पारी सम्हाले । ओपनर म्याट रेन्सलाई ५ रनमै हसन मिराजले एलबिडब्लुको सिकार बनाए । थप १ रन मात्र जोडेपछि अर्का ब्याट्सम्यान उस्मान खावजालाई सकिब अल हसनले क्याच आउट गरे । अस्ट्रेलियाले जितको लागि चौथो दिन बुधबार २ विकेटको क्षतिमा १ सय ९ रनको स्थितिबाट ब्याटिङ थाल्नेछ । क्रिजमा वार्नर र कप्तान स्मिथ रहेका छन् ।  यसअघि दोस्रो पारी थालेको बंगलादेशले सबै विकेटको क्षतिमा २ सय २१ रन मात्रै बनाएको थियो ।

त्यसपछि अस्ट्रेलियाले २ सय ६५ रनको लक्ष्य पाएको हो । घरेलु टोलीले १ विकेट गुमाएर ४५ रन बनाएको अवस्थाबाट मंगलबारको खेल थाले पनि सोही दिन २ सय २१ रनमा अलआउट भयो । बंगलादेशका लागि तमिम इकबलले ७८ रन बनाए । उनको पारीमा ८ चौका मात्र समावेश थियो । कप्तान मुस्फिकर रहिम ४१ रनमै रन आउट भए । हसन मिराजले २६ र सबिर रहमानले २२ रन बनाए । त्यसबाहेक अरूले गतिलो रन जोड्न सकेनन् । अन्य ब्याट्सम्यान सस्तैमा आउट भएपछि घरेलु टोलीले ठूलो योगफल बनाउन सकेन ।

अस्ट्रेलियाका नाथन लायनले ६ विकेट लिए । शेर बंगला नेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले पहिलो पारीमा २ सय ६० रन बनाएको थियो । पहिलो पालीमा अस्ट्रेलिया ४३ रनले पछि परेको थियो । पहिलो पारीमा बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ८४ रन बनाए । तमिम इकबलले ७१ रन जोडे । अस्ट्रेलियाले भने पहिलो पारी २ सय १७ रनमा सबै विकेट गुमाएको थियो । बंगलादेश भ्रमणमा रहेको अस्ट्रेलियाले घरेलु टोलीसँग २ टेस्ट क्रिकेट खेल्नेछ ।

प्रतिक्रिया