शिक्षक अभाब , महिना बित्यो आवेदन परेन

school-295210_960_720-589-1492149661संखुवासभा । जिल्लामा शिक्षा मन्त्रालयको नीतिनियम अनुसार रिक्त रहेको कोटा पदपूर्ति गर्न समस्या देखिएको छ । शिक्षण पेसामा आबद्ध हुने व्यक्तिले शिक्षा हासिल गरेका तहहरूको प्रमाणपत्रलगायत अध्यापन अनुमति पत्र (लाइसेन्स) अनिवार्य छ । तर, कतिपय शिक्षकहरू शिक्षा हासिल गरेका तहअनुुसार प्रमाणपत्र भए पनि लाइसेन्स प्राप्त छैनन् । यसले गर्दा विषयगत लाइसेन्स प्राप्त शिक्षक पाउन झनै मुुस्किल भएको छ ।

संखुुवासभाको एक विद्यालयमा पनि यस्तै समस्या भएको छ । पाँचखपन नगरपालिका–८ मा रहेको सिंहेश्वरी माविले गत १ साउनमा बिएससी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको थियो । यसअघि सोही विद्यालयमा शिक्षण गर्दै आएका बिएससी शिक्षकले निमावि तहबाट आयोगमा नाम निकालेपछि असार महिनामा सरुवा भएसँगै उक्त पद रिक्त रहेको थियो । रिक्त पदपूर्तिका लागि गत १ साउनबाट आवेदन खुला गरिए पनि हालसम्म कसैको पनि आवेदन परेको छैन ।

शिक्षक पदपूर्तिका लागि लाइसेन्स प्राप्त हुनुपर्ने प्रावधानका कारण पदपूर्ति गर्न समस्या भएको विद्यालयका प्रअ थिरबहादुर राईले बताएका थिए । उनले भने, ‘बिएससी पास गरेका व्यक्तिको प्रमाणपत्र हुन्छ तर लाइसेन्स हुँदैन । उनीहरू लाइसेन्स लिनभन्दा पनि उच्च शिक्षा हासिल गर्न तिर लाग्छन् । त्यसैले लाइसेन्स प्राप्त बिएससी शिक्षक पाउनै गाह्रो छ ।’

शिक्षा मन्त्रालयले लागू गरेको यस्तो किसिमको नियमले केही विषयगत शिक्षकहरूलाई उपयोगी भए पनि विज्ञान तथा गणित विषयका शिक्षकहरू पाउन समस्या देखिएको छ । अब कुनै पनि विद्यालयमा बिएससी शिक्षक राख्ने हो भने लाइसेन्स प्राप्त बिएससी होइन, प्रमाणपत्र प्राप्त बिएससी शिक्षक राख्न अनुमति नभए योग्य शिक्षक नपाउँदा पठनपाठनमा समेत समस्या हुने प्रअ राईले जनाए ।

विशेष गरेर बिएससी शिक्षकहरू नेपालको पूर्वी पहाडी जिल्लाका विद्यालयहरूमा भन्दा तराई तथा सहर केद्रित हुने र २÷४ वर्षको शिक्षक पेसासँगै लोक सेवा आयोगतिर आकर्षित भएकाले बिएससी शिक्षकको अभाव हुने गरेको जिल्ला शिक्षा कार्यालय संखुवासभाका शाखा अधिकृत केशव भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया