डोक्लामबाट भारतीय सेना पछि हट्यो

files-india-chinaकाठमाडौं । चीन र भारत डोक्लाम विवाद अन्त्य गर्न सहमत भएका छन् । भारतीय विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालैको हप्तामा डोक्लाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक तहमा छलफल जारी रहेको छ, यो कुराकानीमा हामीले आपसको चिन्ता र हितबारे छलफल गरेका छौँ । यसै आधारमा डोक्लाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रुत रूपमा हटाउने निर्णय गरेका छौँ र यस दिशामा काम अघि बढेको छ ।’

यसैगरी, चीनको विदेश मन्त्रालयले पनि भारतले आफ्नो सेनालाई डोक्लामबाट हटाउने भएपछि विवाद अन्त्य भएको जनाएको छ । विदेश मन्त्रालयबाट सोमबार जारी गरिएको विज्ञप्तिमा दुई देशले यो मुद्दामा लामो छलफलपछि फैसला गरेको जनाएको छ ।

चीनको आधिकारिक टेलिभिजन सिजिटिएनको अनलाइन संस्करणमा भारतले डोक्लामबाट सैनिक फिर्ता बोलाएर आफ्नै सीमाभित्र राखिएको उल्लेख गरेको छ । चीन र भारतका बीच दुई महिनादेखि डोक्लामलाई लिएर विवाद उत्कर्षमा पुगेको थियो । चीनको विदेश मन्त्रालयका अनुसार भारतीय सेना डोक्लामबाट हटे पनि चिनियाँ सेनाले त्यस क्षेत्रमा लगातार गस्ती भने गर्नेछ ।

एक कूटनीतिक जानकारका अनुसार केही दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स सम्मेलनमा भाग लिन चीन भ्रमणमा जाँदै छन् । त्यसलाई ध्यानमा राख्दै दुई देशबीच विवाद अन्त्यका लागि सहमत भएका हुन् ।

बिबिसीका अनुसार यत्तिका दिनपछि कसरी यो विवाद अन्त्य भयो त ? यसको विश्लेषण गर्दै नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ चाइनिज स्टडिजका सिनियर फेलो अतुल भारद्वाजले दुई देशबीच सम्झौता मात्र विकल्प रहेको बताए ।

गतिरोधको स्थिति सधैँ बनिरहनै सक्दैन्थ्यो । भारतले भुटानप्रतिको आफ्नो प्रतिबद्धतालाई प्राथमिकता दियो । तर, उसले आफ्नो मन बदलेको जस्तो देखिन्छ । आखिर भारतलाई चिनियाँ बजार र लगानी आवश्यक छ ।

भारद्वाजको विचारमा भारत जहिले पनि आर्थिक फाइदा लिने कि सीमा सुरक्षामा ध्यान दिने भन्ने विषयमा दुविधाग्रस्त छ । पहिला सुरक्षाको मुद्दालाई माथि राखिएको भए पनि त्यसको ठाउँमा आर्थिक विषयले अहिले महत्व पाएको छ । भारत र चीनबीच साढे ३ हजार किलोमिटर लामो सीमा क्षेत्र रहेको छ जसमध्ये कैयौं स्थानमा विवाद रहेको छ ।

प्रतिक्रिया