रक्षा समाचारदातालाई प्रशिक्षण शुरु

Nepal-Armyकाठमाडौँ, ११ भदौ । आमसञ्चारमाध्यममा सेनासम्बन्धी विषयमा समाचार लेख्दैआएका सञ्चारकर्मीलाई नेपाली सेनाले आफ्नो सांगठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा विविध विषयमा जानकारी गराउने उद्देश्यले आइतबारदेखि सातदिने प्रशिक्षण शुरु गरेको छ ।

सैनिक मुख्यालयमा आइतबार आयोजित समारोहमा नेपाली सेनाका प्रवक्ता झङ्करबहादुर कडायतले उक्त प्रशिक्षणको शुभारम्भ गरेका हुन् । प्रशिक्षणमा राजधानीबाट प्रकाशन तथा प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यमका २७ पत्रकारको सहभागिता छ ।

प्रशिक्षार्थीलाई राष्ट्रिय सुरक्षा नीति, नेपाली सेनाको विकास निर्माणसम्बन्धी कार्य, सूचनाको हक, नागरिक सैनिक सम्बन्ध, सुरक्षा निकायको भूमिका तथा राष्ट्रिय सेवा दलको महत्वबारेमा सम्बन्धित विषयका विज्ञले प्रशिक्षण दिने कार्यक्रम छ ।

सडक निर्माण, शान्ति स्थापना, सैनिक कल्याणकारी कार्यक्रम, समावेशिता एवं सेनामा महिला सहभागिता तथा प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा सेनाको भूमिकाबारे प्रशिक्षार्थीलाई सैद्धान्तिक र स्थलगत अध्ययन भ्रमण गराइने सेनाले जनाएको छ ।

रक्षा पत्रकारलाई नेपाली सेनाले यस्तो प्रशिक्षण यसअघि चार पटक सञ्चालन गरिसकेको छ । यस्ता कार्यक्रमबाट नागरिक र सेनाबीचको सम्बन्ध विस्तार तथा राष्ट्र एवं राष्ट्रियताको संवद्र्धनमा योगदान पुग्ने विश्वास गरिएको छ ।

अमेरिका, भारत, पाकिस्तान र बेलायतजस्ता मुलुकमा पनि यसखाले प्रशिक्षण सञ्चालन हुने गरेको बताइएको छ ।

प्रतिक्रिया