८ करोड डुबाएर सञ्चालक फरार

 जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौंमा १ सय ८८ भन्दा बढी पीडितले आफूहरू ठगिएको सम्बन्धमा निवेदन दिएका छन् ।

united citizens sahakari

काठमाडौं । युनाइटेड सिटिजन्स बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक प्रवीणकुमार शर्मा ८ करोड रुपैयाँ डुबाएर फरार भएका छन् । राजधानीको ठमेलमा कार्यालय रहेको युनाइटेड सिटिजन्स बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका शर्मालगायत सबै पदाधिकारी ११ असारदेखि फरार रहेको व्यवस्थापक रमेश भट्टराईले जानकारी दिए ।

जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौंमा निवेदन दिन आएका पीडित ६० वर्षीय ईश्वरबहादुर नकर्मीले सौर्य दैनिकसँग भने, ‘केही दिनअगाडि पैसा निकाल्न भनेर सहकारीको अफिस जाँदा बन्द रहेको देखेपछि व्यवस्थापकलाई फोन गरें अनि पो थाहा भयो । हामी त ठगिएका रहेछौँ ।’ ८ वर्षअगाडि खाता खोलेर वचत गर्दै आएका नकर्मीको ३ लाख डुबेको छ । नकर्मीले भने, ‘व्यवस्थापकलाई नै विश्वास गरेर पैसा जम्मा गरेको तर, आज यसरी फसादमा परियो । मजस्ता ३ सयभन्दा बढीको रकम डुबेको छ । कसै कसैको त २० लाखसम्म पनि छ भन्ने सुन्छु । तर, व्ययस्थापकले नआत्तिनुस् सबै प्रक्रियामा जान्छौं तपार्इंहरूको रकम सकेसम्म फिर्ता गर्नेछौं । दोषीलाई खोजेर कानुनी दायरामा ल्याउन सबै निकायसम्म पुग्ने कोसिसमा छौं ।’ 
जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौंमा १ सय ८८ भन्दा बढी पीडितले आफूहरू ठगिएको सम्बन्धमा निवेदन दिएका छन् । डिभिजन कार्यालयले नै कुनै कारबाही गर्न सक्ने नियम नभएको र नियमअनुसार पीडितको निवेदन संकलन गरी हामीसँग भएका प्रमाण जुटाएर दोषीलाई कारबाहीका लागि प्रहरीसमक्ष पेस गर्ने प्रक्रियामा रहेको जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौंका प्रमुख आनन्द सारुले बताए । प्रमुख सारुले भने, ‘हामीले कारबाही गर्न मिल्दैन, अनुसन्धान गर्न पनि मिल्दैन, सञ्चालक फरार छन्, वचतकर्ता गुनासो लिएर हामीकहाँ आइपुगेका छन् । सबै प्रक्रिया पु¥याएर फरार सञ्चालकलाई प्रक्राउ गरी छानबिन र बचतकर्ताको रकम फिर्ता गराउन हामी पनि लागिपरेका छौं ।’ 
जिल्ला सहकारी डिभिजन कार्यालयले युनाइटेड सिटिजन्स सहकारीलाई बन्द गर्नुभन्दा व्यवस्थापकले साधारणसभा गराई नयाँ सञ्चालक समिति बनाएर काम सञ्चालनमा ल्याउन भने पनि वकिलले यसो गर्दा कानुनसम्मत नहुने तर्क गरेपछि हुन लागेको साधारणसभा पनि बिथोलिएको थियो । 
सञ्चालक शर्माले सिटिजन्स बहुउद्देश्यीय सहकारी संस्था ०६५ देखि चलाउँदै आएका हुन् । संस्थाका व्यवस्थापक भट्टराईले भने, ‘सञ्चालक समितिमा सबै सदस्य उनका आफन्त मात्र थिए । प्रवीणकुमार बुद्धनगरमा बस्थे, पछि त्यो घर बेचेर ललितपुरको इमाडोलमा सरेका हुन् । कहाँनेर हो बस्ने घर मलाई पनि थाहा छैन । पहिला सहकारीको कारोबार राम्रै थियो पछि घटाउँदै लगे । मैले यसो किन गरेको भनेर ध्यानाकर्षण पनि गराएको थिएँ । म एकजनाले भनेको के लाग्थो र ?’ 
भट्टराईले भने, ‘अझै उनीहरूले जग्गामा लगानी गर्दै गए ऋण पनि विनाधितो आफ्नाहरूलाई दिँदै गए यसैकारणले सहकारीको सबै लगानी डुब्दै गएको हो । जग्गामा लगानी गरेका सबै प्रोजेक्टहरू फेल हँुदै गएका हुन कि भन्ने मेरो आशंका छ ।’ 
विनाधितोको ऋण उठाउन नसकेपछि उनी भागेका हुन् भन्ने पीडितको बुझाइ छ ।
२६ चैत ०७३ मा प्रवीणकुमारले व्यवस्थापक भट्टराईको असन्तुष्टि हँुदाहँुदै पनि जबरजस्ती साधारणसभा गराएको खुल्न आएको छ । उनका अनुसार शर्माले साधारणसभा गराएका माइन्युट तथा पुराना सबै लिखित सामग्री लगेका छन् । 
भट्टराईले भने, ‘उनका आफन्त कसैको पनि फोन उठिरहेको छैन । यस कुरामा कुन पाटो रोज्ने भनी कानुनी अस्पष्टताका कारण म आफैं अन्योलमा छु ।’ 
सहकारी डिभिजन कार्यालयले पीडितको निवेदनसहित समेटेर महानगरीय प्रहरीपरिसर हनुमानढोकालाई पत्र पठाउने भने पनि शुक्रबारसम्म १ सय ८८ वटा निवेदनहरूमा तोक लाउन नभ्याएका कारण सबै निवेदन आइतबार पठाउने डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया