रिक्सा चालकको पेसा संकटमा

rikswaविराटनगर । रिक्सा चालकको पेसा संकटमा परेको छ । मिहिनेत अनुसारको प्रतिफल नपाएका कारण उनीहरूमा निराशा अधिक मात्रामा रहेको छ । केही वर्ष अगाडिसम्म काम अनुसारको आर्थिक उपार्जन गरेका रिक्सा चालकहरूको हाल आएर रोजी रोटी गुम्ने अवस्था रहेको छ ।

बढी मिहिनेत र परिश्रम गर्दा पनि आफ्नै दौनिकी चलाउन मुस्किल परेको उनीहरूको गुनासो छ । आर्थिक अभावकै कारण बालबालिकालाई पठाउन समस्या भएको विराटनगरको जिल्ला प्रशासन कार्यलयअगाडि भेटिएका एक रिक्सा चालकले दुखेसो सुनाए ।

दिनभरि ग्राहकको खोजीमा हिँड्दा पनि आफ्नो किस्ता र घरपरिवारको आवश्यकता पु¥याउन समस्यापर्ने गरेको धेरैजसो रिक्सा चालकको समस्या छ । धुलो धुँवा, वर्षात धामपानीको प्रवाह नगरी उनीहरू आफ्नो पेसामा लाग्दा पनि आफ्नो आधारभूत आवश्यकता पूरा नभएकाले रिक्साको विकल्प सोच्नुपर्ने बाध्यता भएको उनीहरूले बताएका छन् ।

सिटी सवारी भित्रिएपछि रिक्साको कमाइ नभएको उनीहरू बताउँछन् । आफ्नो उद्योग, व्यापार, व्यावसाय गर्न आर्थिक अभावको कारण थप समस्या परेको रिक्सा चालक शम्भु शर्माको भनाइ छ ।

वातावरण मैत्री भनिएको सिटी सवारीलाई सरकारी संयन्त्रबाट नै मापदण्डविपरीत सञ्चालन गर्न दिएकाले आफ्नो पेसा संकटमा परेको उनीहरूको आरोप छ । रिक्सा चालक राजु श्रेष्ठले सिटी सवारीले मनोमानी गर्ने गरेकाले काम गरेर खानसमेत समस्या भएको सुनाए ।

न्यून आम्दानीका कारण गरिब परिवारको दैनिक भरोसाको माध्यम भएको उनीहरूको पेशा संकटमा परेको छ । रिक्सा चालकको समस्यालाई सरकारी संयन्त्रले बुझेर वैकल्पिक उपायका लागि तालिम सीप र रोजगारको आवश्यक व्यवस्था गर्नु आवश्यक रहेकोे सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया