खनियाँका कारण त्रिवि अस्तव्यस्त

tirtha khaniya - Copy copyकाठमाडौं । मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त बन्न पुगेको छ । चरम राजनीतिक दाउपेचका कारण अहिलेका उपकुलपति डा. तीर्थ खनियाँले त्रिविलाई अस्तव्यस्त बनाएका हुन् । खनियाँका कारण अहिले त्रिविका महत्वपूर्ण निकायमा पदाधिकारी छैनन् ।

त्रिविको शैक्षिक पात्रोदेखि नियुक्तसम्मका सबै काम अस्तव्यस्त छन् । ३ महिने संगिनी सुई लगाएजस्तै नियुक्त भएका परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक पुष्पराज जोशीको पदावधि सकिए पनि अहिलेसम्म नयाँ परीक्षा नियन्त्रक नियुक्त हुन सकेका छैनन् । यसअघिका परीक्षा नियन्त्रक जोशीको पदावधि ४ भदौमा सकिएपछि त्रिवि परीक्षा नियन्त्रकविहीन बन्न पुगेको छ । ४ वर्षलाई नियुक्त गर्नुपर्ने परीक्षा नियन्त्रक ३ महिनामा मात्र नियुक्त गरेपछि अहिलेको यस्तो अवस्था आएको हो ।

निमित्त परीक्षा नियन्त्रक नियुक्त गर्न मिल्ने व्यवस्था भए पनि खनियाँले कसैलाई पनि निमित्त नदिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेका छन् । उपकुलपति खनियाँले ३ महिनाका लागि विशेषाधिकार प्रयोग गरी नियुक्त गरिएका जोशीको कार्यकाल सकिएपछि अर्को व्यक्ति नियुक्त हुन सकेको छैन । ‘अब फेरि विशेषाधिकार प्रयोग गरेर अर्को नियन्त्रक नियुक्त गर्न मिल्दैन’, स्रोतले भन्यो, ‘जसले गर्दा परीक्षा नियन्त्रण कार्यालयको काम प्रभावित भएको छ ।’

अहिले परीक्षा नियन्त्रक नहँुदा विद्यार्थीको महत्वपूर्ण कामकाज ट्रान्सक्रिप्ट र सर्टिफिकेट जस्ता महत्वपूर्ण कागजात बन्ने गरेका छैनन् । जसले गर्दा विद्यार्थीहरू मर्कामा परेका छन् । ३ दिनदेखि परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले बताए । उनका अनुसार आर्थिक कारोबार, उत्तरपुस्तिकाका परीक्षण गर्ने परीक्षकको पनि पारिश्रमिक उपलब्ध गराउनेलगायत काम पनि हुन सेकेको छैन । अखिलका सचिवालय सदस्य माधव पन्तले उपकुलपतिको लाचारपनका कारण त्रिवि अस्तव्यस्त बन्न पुगेको बताए । उनले परीक्षा नियन्त्रक नहँुदा ट्रान्सक्रिप्ट, रजिस्ट्रेसन, मार्कसिट नबनेकाले उपकुलपति खनियाँले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको बताए ।

‘विद्यार्थीलाई आफ्नो भविष्यको लागि ट्रान्सक्रिप्ट जस्तो महत्वपूर्ण काजगात परीक्षा नियन्त्रक नहँुदा पाउन सकेका छैनन्’ उनले भने, ‘कोहीलाई जागिर खानुपर्दछ । कोही विदेश जानुपर्दछ तर, विद्यार्थीले ट्रान्सक्रिप्ट पाउन सकेका छैनन् ।’ उनले तत्काल खाली भएको ठाउँमा पदपूर्ति गरेर त्रिविका गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।

३ महिनादेखि ६ सहनियन्त्रक खाली भए पनि अहिलेसम्म नियुक्त भएको छैन । यस्तै, त्रिविको पाठ्यक्रम महाशाखा पनि प्रमुखविहीन भएको छ । पाठ्यक्रम महाशाखा प्रमुख नहुँदा नयाँ पाठ्यक्रम बनाउने काम प्रभावित बनेको छ । यसैगरी, शिक्षा, विज्ञान र व्यवस्थापन संकायका सहायक डिनसमेत नियुक्त हुन सकेका छैनन् भने सम्बन्धन महाशाखा प्रमुख, उच्च शिक्षा परियोजना जस्ता महत्वपूर्ण निकाय पनि प्रमुखविहीन अवस्थामा पुगेका छन् । उपकुलपति खनियाँले भागबन्डाका लागि ती महत्वपूर्ण स्थानमा नियुक्त गर्न सकेका छैनन् । शिक्षा परियोजना प्रमुखमा अहिले कामचलाउका लागि डा. शंकर भण्डारीलाई ल्याइएको छ ।

दुई सहनियन्त्रकबाट चल्दै पनिका
परीक्षा नियन्त्रण कार्यालयमा १० सहनियन्त्रक हुने व्यवस्था भए पनि खनियाँका कारण अहिले दुईजना सहनियन्त्रक मात्र रहेका छन् । ३ महिनादेखि ८ सहनियन्त्रकको खाली रहेका छन् । जसले गर्दा २ नियन्त्रकको भरमा त्रिवि परीक्षा कार्यालय सञ्चालन भएको छ । अहिले पशुपति अधिकारी र भूपालकुमार श्रेष्ठ मात्र रहेका छन् । केन्द्रीय कार्यालयमा ६ जना र ४ विकास क्षेत्रमा ४ जना गरी १० जना सहनियन्त्रक हुनुपर्नेमा अहिले २ जनाको भरमा कामकारबाही भइरहेको छ ।
नियमअनुसार ४ क्षेत्रीय कार्यालयमा पनि सहनियन्त्रक रहेका छैनन् । ४ क्षेत्रको काम पनि यी २ सहनियन्त्रकले गर्दै आएका छन् । यस्तै, ३ वर्षअघि परीक्षा नियन्त्रण कार्यालय अनलाइनमा जाने भनेता पनि अहिलेसम्म कुनै काम हुन सकेको छैन । अनलाइनमार्फत ट्रान्सक्रिप्ट लिनका लागि जहाँबाट पनि फाराम भरेर लिन मात्र आउने व्यवस्था मिलाउने भनेता पनि अहिले त्यो खनियाँकै कारण गर्भमा नै रहेको छ । एक हप्ताभित्र अनलाइन प्रणालीमा लैजाने भनिए पनि अझै केही भएको छैन । दुईवटा परीक्षा नियन्त्रक परीक्षा कार्यालयबाट बाहिरिए पनि अझै काम हुन सकेको छैन ।

अनलाइन प्रणाली सुरु गरेपछि परीक्षाफल प्रकाशित भएपछि ट्रप्लिकेटमार्फत तुरुन्तै सम्बन्धित क्याम्पसले मार्कसिट हेर्न सक्नेछन् । त्रिविले पहिले आवेदन दिएका विद्यार्थीका ट्रान्सक्रिप्ट मात्र उपलब्ध गराउँदै आएको छ ।
त्रिभुवन विश्विविद्यालयअन्तर्गत विभिन्न आंगिक क्याम्पसहरूमा कार्यरत आंशिक प्राध्यापकहरूले त्रिवि पदाधिकारीहरूको राजीनामा माग गरेका छन् । आंशिक प्राध्यापकहरू करारमा नियुक्त गर्न तथा आंशिक प्रथा अन्त्य गर्ने माग लिएर उनीहरू विगत ६ महिनादेखि आन्दोलनरत छन् ।

मंगलबार साँझ त्रिवि पदाधिकारीलाई भेट्न जाँदा प्रहरीले बल प्रयोग गरी व्यापक धरपकड, लाठीचार्ज र महिला प्राध्यापकहरूमाथि दुव्र्यवहार भएको घटनाप्रति नेपाल आंशिक प्राध्यापक संघले विज्ञप्ति जारी गर्दै घोर भत्र्सनासमेत गरेको छ ।
आफ्ना मागप्रति गम्भीर हुन आग्रह गर्न गएका आंशिक प्राध्यापकहरूलाई त्रिवि पदाधिकारीकै निर्देशनमा भएको यस्तो ज्यादतीले त्रिवि उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रार संवेदनहीन गैरजिम्मेवार तथा निन्दनीय भएको ठहर गर्दै उनीहरूको तत्काल राजीनामाको माग गरिएको छ । त्रिवि पदाधिकारी झुटा र गैरजिम्मेवारी रहेको आरोप लगाउँदै उनीहरूले तत्काल राजीनामा माग गरेका छन् । यथाशीघ्र समस्या समाधान नगरिए सम्पूर्ण आंगिक क्यापसको पठनपाठन ठप्प पार्ने चेतावनीसमेत संघले दिएको छ ।

सूचना अधिकारीविहीन
त्रिवि जस्तो शैक्षिक केन्द्रमा अहिलेसम्म न प्रवक्ता छ न सूचना अधिकारी नै । सूचनासम्बन्धी ऐन–२०६४ ले प्रत्येक कार्यालयमा प्रवक्ता वा सूचना अधिकारीको व्यवस्था गरे पनि त्रिवि जस्तो शैक्षिक केन्द्रमा प्रवक्ता र सूचना अधिकारी छैनन् ।

सूचना लिनका लागि कि उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई फोन गर्नुपर्दछ कि खेलकुद महाशाखा प्रमुख गंगाबहादुर थापालाई । त्रिविका अरू निकाय परीक्षा नियन्त्रण कार्यालयमा पनि न प्रवक्ता न सूचना अधिकारी नै छन् । सूचनाको युगमा त्रिविले प्रवक्ता वा सूचना अधिकारीविहीन बन्नु विडम्बना भएको छ ।

प्रतिक्रिया