फोटो खिच्न लाज मान्थे –बस्नेत

विगत दुई दशकदेखि फोटोग्राफीमा निरन्तर लागिरहेका युवा व्यवसायी योगेन्द्रजंग बस्नेतले नेपाललगायत विश्वका ६ दर्जनभन्दा बढी देशहरुमा फोटोग्राफी गरिसकेका छन । विश्वका विभिन्न देशमा खिचिएका विभिन्न विधाका हजारौं तस्वीरहरू उनीसँग संग्रहित छन । १७८औं विश्व फोटो दिवसको सन्दर्भ पारेर उनीसँग संग्रहित तिनै तस्वीरहरूको प्रदर्शनी भाद्र ३ देखि नेपाल आर्ट काउन्सिल बबरमहल हुँदै छ । ३दिनसम्म चल्ने सो प्रदर्शनीबाट उठेको रकम धुर्मुस–सुन्तली फाउन्डेशनमार्फत बाढीपीडित जनतालाई प्रदान गरिने छ । नेपाल फोटोग्राफी एसोसियशनमा समेत आबद्ध रहेका बस्नेतसँग प्रदर्शनीको छेको पारेर सौर्यकर्मी केशव भट्टले गरेको संवादः

 

यहाँले गर्न लाग्नुभएको प्रदर्शनीको उद्देश्य के हो ?
यो प्रदर्शनीको धेरै ठूलो उद्देश्य राखेर गरिएको होइन । म आफु फोटोग्राफर भएको नाताले फोटोग्राफीको सिलसिलामा धेरै देश घुमे । सोहिक्रममा देश विदेशमा खिचेका विभिन्न फोटोहरु मसँग संग्रहित छन् ।

जो सबैले हेर्नैपर्ने र बुझ्नैपर्ने खालका छन् । प्रदर्शनीबाट आएको रकम बाढीपीडित जनताका लागि राहत स्वरुप धुर्मुस–सुन्तली फाउन्डेशनमार्फत वितरण गर्ने उद्देश्य राखिएको छ ।

प्रदर्शनीमा कस्ता कस्ता फोटोहरु राखिनेछन् ?
यस प्रदर्शनीमा वैवाहिक, सांस्कृतिक, ल्याण्डस्केप लगायत यात्रासँग सम्बन्धित विविध विषयका फोटोहरू राखिनेछ । त्यसैगरी लोकेशन देखाउने चिनाउने खालका फोटो पनि प्रदर्शनीमा राखिने छ ।

फोटोग्राफी भनेको के हो ?
खासमा फोटोग्राफी भनेको कुनै पनि मानिसको मन तान्न सक्ने र तुरुन्त मनोरञ्जन दिनसक्ने चाख लाग्दो प्रविधि युक्त कला हो ।

फोटोग्राफीका क्षेत्रहरु के के छन ?
फोटो पत्रकारिता, वेडिङ फोटोग्राफी, स्टुडियो फोटोग्राफी, पोट्रेट फोटोग्राफी र अझै सुक्ष्म तरिकाले हेर्दा यसमा विभिन्न दर्जनौं विधाहरु पर्दछन् ।

वेडिङ फोटोग्राफी भनेको के हो ?
वेडिङ फोटोग्राफी भनेको फोटोग्राफी जगतकै उत्कृष्ट विधा मानिन्छ । जीविकोपार्जन गर्न एकदम सजिलो र क्रेजी विधाको रुपमा समेत यसलाई लिइन्छ । यस भित्र विवाहका क्रममा हुने हरेक गतिविधि, भिडियो फुटेज तथा त्यससँग सम्बन्धित फोटोहरूलाई समेटिएको हुन्छ ।

आजभोलि त विवाहमा दुलहा–दुलहीको मात्रै फोटो नखिचिकन त्यसमा सहभागी सबैको फोटो खिच्ने चलन छ । यस फोटोग्राफीमा पोज होस नहोस त्यसको कुनै अर्थ हुँदैन । जस्तै फोटो खिच्नलाई पोजमा सिधा बस्नुपर्छ भन्ने पनि हुँदैन । वेडिङ फोटोग्राफीमा प्राकृतिक तरिकाले निर्देश गरेर पनि फोटो खिच्न सकिन्छ ।

अहिले नेपालमा फोटोग्राफीको अवस्था कस्तो छ ?
पहिलेको तुलनामा अहिले फोटोग्राफीको अवस्था निकै राम्रो छ । अब नेपालमा पनि फोटोग्राफी शिक्षाको आवश्यकता बढेर गएको छ । यसले फोटोग्राफीमा अझ व्यवसायिकता ल्याउँछ ।

तपाईले पानीजहाजमा पनि फोटोग्राफी गर्नुभयो, यात्रामा फोटोग्राफी गर्दा कस्तो अनुभव बारे बताइदिनुस् न ?
हो, मैले लामो समय पानीजहाजमा वेडिङ फोटोग्राफी गरेको छुं । यो एउटा सिङ्गै होटेल हो । जहाँ हजारौं मानिस अटाउँछन । यो सुविधायुक्त फ्लोरिङ्ग होटेल हो । त्यही सुविधा अन्तर्गत त्यहाँ फोटोग्राफी विभाग पनि हुन्छ । त्यसै विभागमा रही मैले काम गरेको छु । त्यहाँ चाँहि पोट्रेट फोटोग्राफी र वेडिङ फोटोग्राफी गरिन्थ्यो । पानीजहाजमा बिदा मनाउन भनेर धेरै मानिसहरू आउने गर्छन्, जसका कारण त्यहाँ भिडभाड हुने गर्छ । त्यहाँ फोटोग्राफी गर्दाको आनन्द बेग्लै छ ।

तपाई फोटो पत्रकारितातर्फ कसरी लग्नुभयो ?
फोटोग्राफी तथा फोटो पत्रकारिता मेरो रुचिको विषय हो । आफ्ना चाहाना पुरा गर्न लाग्दालाग्दै पेशा पनि यहि हुनपुग्यो । म जतिखेर यस क्षेत्रमा लागे त्यतिबेला पेशा भन्न मिल्ने अवस्था एकदम कम थियो । मैले फोटोग्राफी सुरुवात् गरेको २२–२३ वर्ष भयो ।

yogendra jang basnet

अहिले फोटो पत्रकारिता छोड्नु भएको हो ?
फोटो पत्रकारिता अत्यन्तै चाखलाग्दो विषय हो । मैले फोटो पत्रकारिता गर्दैगर्दा योभन्दा राम्रो अवसर पाएँ । त्यसकारण मैले यसबाट निस्क्रिय हुनुप¥यो । फोटो पत्रकारिता छोडेर वेडिङ फोटोग्राफीतर्फ लागेको हुँ।

फोटो पत्रकारिता भनेको के हो ?
फोटोमार्फत सूचना, सन्देश तथा समाचार दिनु नै फोटो पत्रकारिता हो । जुनसुकै अवस्थाको मान्छेले पनि फोटोलाई बुझ्न्सक्छ त्यसकारण यो प्रभावकारी पत्रकारिता पनि हो ।

अहिलेको नेपालको फोटो पत्रकारितालाई कसरी हेर्नुभएको छ ?
अहिले नेपालमा मिडिया हाउसको संख्या बढेको छ । फोटो पत्रकार पनि बढ्दै गएका छन । पत्रकारहरू अझै व्यवसायिक बन्दै गएका छन । फोटोको गुणस्तर पनि राम्रो हुँदै गएको छ । पहिलेको भन्दा राम्रो अवस्था छ ।

फोटोग्राफीकै सिलसिलामा कुनै सम्झना रहिरहने घटना छ ?
यो पेशा नै एउटा रमाइलो पेशा हो । यसमा हरेक क्षण सम्झनयोग्य नै हुन्छन् । मैले सम्झनुपर्ने एउटा घटना छ । वेडिङ फोटोग्राफीको सिलसिलामा एकचोटि ‘नासाओ डिस्टिनेशन फ्लोटिङ्ग’मा दुलहा–दुलहीको फोटो खिच्नुपर्ने थियो । मैले काँधमा दुईवटा क्यामेरा बोकेर गएको थिए । दुलहीले आफुलाई दुलहाले पानीमा बोकेर फोटो खिच्नुपर्ने अफर गरिन् ।

म दुइटै क्यामेरा बोकेर पानीमा जाँदा मेरो क्यामेराको लेन्स नै भिज्यो र फोटो खिच्नै नहुने भयो । अव के गर्ने भनेर तनाव भइरहेको थियो तर दुलहासँग क्यामेरा रहेछ, सो क्यामेराको लेन्स प्रयोग गरेर फोटो खिचें । त्यही फोटो उसैलाई ३५ डलरमा बेचियो । यो पनि एक अविष्मरणीय क्षण हो ।

yogendra jung basnet

अहिले नेपालमा फोटोग्राफीबाट दैनिकी चलाउन सकिन्छ त ?
नेपालमा अहिले पहिलाभन्दा फोटोग्राफीको अवस्था राम्रो छ । दैनिकी त राम्रैसँग चलाउन सकिन्छ । पहिला त फोटो खिच्न धेरैले लाज मान्थें तर अहिले त्यो हटिसकेको छ । यसमै व्यवसायिक रुपमै लाग्ने हो भने पनि नेपालमा राम्रो अवसर आएको छ । डिजिटल प्रविधिसँगै यसमा अवसर पनि भित्रिएको छ । त्यसैगरी आजकल कलात्मक फोटोग्राफीमा मानिसको रुचि बढ्दै गएको छ ।

अन्त्यमा ?
म व्यवसायी पनि हुँ । मेरो आफ्नै अर्को व्यापार पनि छ । यी दुईवटै कुराहरूलाई निरन्तरता दिदैं अगाडि बढ्दै जान्छु । फोटोग्राफी मेरो रुचिको विषय हो । त्यसकारण यसलाई पनि निरन्तरता दिदैँ जान्छु । साथै मैले विभिन्न ठाउँमा फोटोग्राफी पनि पढाउँछु । यस क्षेत्रमा अझैं राम्रो गर्दै जाने लक्ष्य लिएको छु ।

प्रतिक्रिया