काठमाडौं २५ साउन । पछिल्लो समय युट्युबमा नेपाली गीतका भिडियोहरूले उल्लेख्य दर्शक पाउन थालेका छन् । करिब एक दर्जन भिडियो त एक करोडभन्दा बढी पटक हेरिनेमा चलचित्रका गीत बढी छन् । चारवटा आधुनिक गीतका भिडियो छन् । यसमध्ये ‘आई लभ यु’ गीत एक हो । एक वर्षअघि रिलिज भएको गीतमा सरोज ओली र इन्दिरा जोशीको स्वर रहेको कुञ्जना घिमिरे ‘सुन्तली’ र पल शाह मुख्य भूमिकामा रहेको भिडियोमा सीताराम कट्टेल ‘धुर्मुस’ अतिथि भूमिकामा छन् । उक्त गीतको भिडियो एक करोड पटक हेरिएको खुसीमा टोलीले आइतबार राजधानीमा खुसियालीको केक काटेको छ ।
गीतको दोस्रो भाग ‘जता जता पिरतीको बाटो’ कार्टुन्ज क्रु र पल शाह अभिनीत भिडिया हालै सार्वजनिक भएको छ । संघीय मामिला तथा स्थानीय मन्त्रालयका सचिव दिनेश थपलियाद्वारा लिखित गीतको भिडियोको कविराज गहतराजले कोरियोग्राफी र सञ्जय लामाले भिडियो खिचेका छन् । खुसियालीमा गायिका इन्दिरा जोशी, धुर्मुस, सुन्तली र कोरियोग्राफर गहतराज भने उपस्थित थिएनन् । गायक ओली, संगीतकार वसन्त सापकोटा, गीतकार थपलिया, मोडल शाह र छायाँकार लामाले संयुक्त रूपमा केक काटेका थिए । खुसियाली मनाउँदै सबैले दर्शक तथा सहयोगीलाई धन्यवाद दिएका थिए ।
गायक ओलीले आफूले वर्षमा एउटा मात्र गीत गाउने तर, खर्च तथा मेहनतमा कुनै कञ्जुस्याइँ नगर्ने बताए । उनले आई लभ यु गीतको युट्युबबाट आएको करिब १० लाख ‘जताजता पिरतीको बाटो’ मा खर्च गरिएको बताए । विकाससम्बन्धी गीत लेख्दै आएका गीतकार थपलियाले आफ्नो पहिलो प्रेमगीत सफल भएकोमा खुसी साट्दै गीत लेख्न अनुरोध गर्ने संगीतकार वसन्त सापकोटा र गायक ओलीलाई विशेष धन्यवाद दिए । उनले गीत सफल हुन शब्दबाहेक ६ पक्षबीचको राम्रो सन्तुलन हुनुपर्ने बताए । अभिनेता पल शाहले पनि आई लभ यु गीतमा काम गर्दा सन्तुष्टि मिलेको बताए ।
प्रतिक्रिया