अर्थबजार

ट्राउट माछा पालनमा किसानको आकर्षण

सौर्य अनलाइन २०७४ असार १५ गते ९:२८ मा प्रकाशित

नुवाकोट १५ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लकमा ट्राउट माछा कार्यक्रम छनोट भएर अनुदान सहयोग उपलब्ध गराएपछि यहाँका किसान यो पेसाप्रति आकर्षित भएका छन् । जापानी रेन्बो ट्राउट माछापालनमा उत्कृष्ट रहेको नुवाकोटमा यस वर्षदेखि कार्यान्वयमा आएको परियोजनाले मदानपुर, ककनी, ओखरपौवासहित आसपासको क्षेत्रलाई ब्लक छनोट गरेर अनुदान सहयोग उपलब्ध गराएपछि सम्बद्ध किसान पोखरी निर्माणमा जुटेका हुन् । ०५५ सालदेखि व्यावसायिक रूपमा जिल्लामा ट्राउट माछापालन सुरु हुँदै आएको थियो ।

०७२ को विनाशकारी भूकम्पले ठूलो नोक्सान बेहोरेर निराश भएका किसान यस परियोजनाको अनुदान सहयोगले पुनः माछापालनमा फर्किएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक समितिका अध्यक्ष दमन लामाले बताए ।  ‘ब्लकमा परेको साविकको ३ गाविससहित बेलकोटका किसानले लगानीको आधा रकम अनुदान पाएपछि भूकम्पको विनाशपछि पेसा छाडेका किसानसहित नयाँ किसानसमेत थप भएर माछापालन गर्न सुरु गरेका हुन् ।’ माछा ब्लकका अध्यक्ष लामाले भने, ‘अहिले २५ जना किसान पोखरी निर्माणमा व्यस्त छन् ।’ पोखरी निर्माणमा मात्र एक किसानले कम्तीमा ५० लाख रुपैयाँ लगानी गरेका छन् ।

परियोजनाले माछाको ब्लक निर्माण गर्न नुवाकोटमा २ करोड ६० लाख बजेट छुट्टाएर किसानलाई पोखरी निर्माण, दाना उत्पादन, भुरा व्यवस्थापन एवं सवारीसाधन खरिदमा आधाभन्दा बढी रकम अनुदान दिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा.कमलराज गैरेले बताए ।  नुवाकोटबाट काठमाडाँं जोड्ने पासाङ ल्हमु सडक खण्डको आसापासका किसानले ट्राउट माछापालन गरी ‘ट्राउट हाइवे’ को रूपमा सुरु गरेको अवधारणामा भूकम्पले धक्का लागे पनि अव पूर्ववत् अवस्थामा फर्काउन कोशिस गरिएको उनले जानकारी दिए ।

पहाडी डाँडा र भिरालो जमिनमा अन्न तथा तरकारीको उत्पादन नहुने स्थानमा परियोजनाको सहयोगमा किसान पोखरी निर्माण गरी माछापालनमा आकर्षित भएका छन् । पछिल्लो समय मासुको लागि आकर्षित रहेको ट्राउट माछा स्वास्थ्यको लागिसमेत हितकर मानिन्छ ।  ट्राउट माछा अहिले बजारमा प्रतिकिलो १५ सय रुपैयाँमा कारोबार हुने गरेको छ ।

प्रतिक्रिया