रञ्जना पहिलो

काठमाडौं १३ असार । आयोजक नेपाल वायु सेवा निगमकी रञ्जना पोखरेल अन्तर एअरलायन्स टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार पहिलो भएकी छन् । ४ खेलाडी सहभागी महिला सिंगल्सको राउन्ड रोविन लिगमा रञ्जनाले शतप्रतिशत जित निकाल्दै उपाधि जित्न सफल भएकी हुन् । रञ्जनाले प्रतिद्वन्द्वी त्रय उषा सिम्खडा, निमा डोमा शेर्पा र अन्जु शाहलाई समान २–० को नतिजामा पाखा लगाइन् । पराजित तीनै प्रतिस्पर्धी पनि आयोजक निगमकै हुन् । अन्जु शाह र निमालाई समान २–० को सोझो सेटमा हराएकी उषा दोस्रो भइन् । निमाले तेस्रो स्थानमा चित्त बुझाइन् । निमाले अन्जुलाई २–० ले नै पाखा लगाइन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको पुरुष सिंगल्समा कतार एयरवेजका कमल श्रेष्ठ फाइनलमा प्रवेश गरे । कमलले निगमका सुरेशविक्रम हमालको यात्रा ११–९, ९–११, ३–११, १३–११ र ११–५ को सेटमा पूर्णविराम लगाए । फाइनलमा कमलको भेट निगमका नवीनबहादुर शाक्यसँग हुनेछ । नवीन एयर अरेबियाका प्रज्वल कर्माचार्यलाई ३–० को सिधा सेटमा पाखा लगाउँदै यसअघि नै फाइनलमा पुगिसकेका छन् ।

तेस्रो स्थानका लागि भएको खेलमा भने सुरेशले सफलता पाए । उनले एयर अरेबियाका प्रज्ज्वललाई ११–७, ११–६ र ११–३ को सोझो सेटमा पराजित गरे । पुरुष डबल्समा निगमका नवीन र प्रितम प्रधानको जोडी फाइनलमा पुगेका छन् । उक्त जोडीले निगमकै जयबहादुर चन्द र समिर केसीको जोडीलाई १६–१४, ११–७ र ११–९ को सोझो सेटमा हराए । अर्को सेमिफाइनल हुन बाँकी छ । (सौस)

प्रतिक्रिया