सुदूरपश्चिममा पनि लोडसेडिङ अन्त्य होस् ः दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिमाञ्चल क्षेत्रको विद्युत्भार कटौती तत्काल अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका छन् ।  स्थानीय तहको दोस्रो चरणको निर्वाचन अभियानमा सहभागी भएर काठमाडौं फर्केपछि अध्यक्ष दाहालले शनिबार कार्यकारी निर्देशक घिसिङलाई बोलाएर सुदूरपश्चिमाञ्चल क्षेत्रमा किन विद्युत् कटौती गरिएको हो भनेर जिज्ञासा राखेका थिए ।
प्रदेश नं ७ को सुदूरपश्चिमको विद्युत्भार कटौतीको अन्त्य गर्ने विषयमा प्रभावकारी कार्ययोजनाका साथ काम गर्न अध्यक्ष दाहालले कार्यकारी निर्देशक घिसिङलाई तत्काल प्रक्रिया सुरु गर्न आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए । चुनावी अभियानका क्रममा तीन दिनअघि सुदूरपश्चिम पुगेका अध्यक्ष दाहाललाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा विद्युत्भार कटौती मुक्त अभियान चलेपनि सुदूरपश्चिममा भने कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए ।
स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष दाहालले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै विद्युत्भार कटौती अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए । भेटमा कार्यकारी निर्देशक घिसिङले सुदूरपश्चिममा प्रसारण र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन÷चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदूरपश्चिमको विद्युत्भार कटौती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया