भलिबल संघको वार्षिक कार्यक्रम

volleyball barshik karyakram
काठमाडौं । नेपाल भलिबल संघले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा संघका महासचिव जितेन्द्रबहादुर चन्दले विभिन्न २७ बुँदासहितको कार्यक्रम सार्वजनिक गरे । घोषित कार्यक्रमअनुसार संघले असार महिनामा राष्ट्रिय पुरुष तथा महिला टोलीको सम्मान गर्ने भएको छ । सो कार्यक्रममा एभिसी सेन्ट्रल जोन प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गर्ने छ ।
वार्षिक कार्यक्रममा नेपाल र डेनमार्कको भिदोवर क्लबसँगको मैत्रीपूर्ण खेललाई पनि समावेश गरिएको छ । दुई टोलीबीचको मैत्रीपूर्ण खेल असोजमा काठमाडौंमा आयोजना हुनेछ । संघले पहिलो पटक यु–१८ महिला तथा पुरुष अन्तर विद्यालय भलिबल प्रतियोगिता गर्ने घोषणा गरेको छ भने अन्तर कलेज भलिबल प्रतियोगितालाई पनि यही आर्थिक वर्षमा आयोजना गर्ने जनाएको छ ।
घोषित कार्यक्रममा विद्यालयस्तरदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताका साथै रेफ्री र प्रशिक्षकका लागि पनि कार्यक्रम निर्धारण गरिएको छ । जसमा साउन महिनामा प्रशिक्षकहरूका लागि रिफ्रेसर कोर्स सञ्चालन गरिने भएको छ भने पुसमा सबै विकास क्षेत्रमा रेफ्री रिफ्रेसिङ कोर्स सञ्चालन गर्ने भएको छ । भलिबल राष्ट्रिय खेल घोषणा भएपछि देशभरी भलिबलसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न जिल्ला संघहरूलाई परिचालन गरिने जनाएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको हरेक जेठ ८ गते भलिबल दिवस मनाउने घोषणा गरिएको छ ।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले राष्ट्रिय खेलको विकास र विस्तारका लागि सबै पक्षसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ, रञ्जन खड्का, सचिव जगदीश भट्ट, कोषाध्यक्ष सुनकेशरी माली, विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसी, पदाधिकारी, रेफ्री, प्रशिक्षक र खेलाडीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया