स्थानीय तह निर्वाचन संशोधन गरिँदै

काठमाडौं । संसद्को मंगलबारको बैठकमा स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ प्रस्तुत भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले सो विधेयक प्रस्तुत गर्दै अहिले सबै राजनीतिक दलले संविधानको कार्यान्वयनलाई प्राथमिकता दिन आवश्यक रहेकामा जोड दिए । उनले निर्वाचन प्रक्रियालाई अझ स्वतन्त्र, भयरहित र शान्तिपूर्ण बनाउन स्थानीय तह निर्वाचन पहिलो संशोधन आवश्यक रहेको चर्चा गर्दै संशोधन लामो सूची नरहेको जानकारी दिए ।

सो विधेयक प्रस्तुत नगर्न नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले राखेको विरोधको सूचनालाई बहुमतले अस्वीकार गरेको थियो । सदनको मंगलबारको बैठकले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव फिर्ता गर्नेसम्बन्धी सूचनालाई सहमति जनाएको थियो । कार्यव्यवस्था समितिको १७ जेठको बैठकले महाअभियोग फिर्ता लिन परामर्श दिएको थियो । कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोगको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए

प्रतिक्रिया