कोरियाली राजदूत पार्क योङलाई तेक्वान्दो संघको स्वागत

koreeyali rajdut swagat taekwondo
काठमाडौं । नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको नवनिर्मित भवन अवलोकन गरेका छन् । कोरियाली राजदूत पार्कले सोमबार तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्र, जिमखान र मिनी स्टेडियमलगायत विभिन्न ब्लकको स्थलगत अवलोकन गरेका थिए । संघले सोमबार नै नवनियुक्त राजदूत पार्कलाई स्वागत गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा एक कार्यक्रमको आयोजना गर्दैै संघका अध्यक्ष प्रकाशशम्शेर राणाले नेपालका लागि कोरियाली राजदूत पार्कलाई स्वागत गरे । सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष सञ्जीव रेग्मीले निर्माणाधिन बहुउद्देश्यीय संरचनाका बारेमा राजदूत पार्कलाई जानकारी गराएका थिए ।

संघका अध्यक्ष राणाले राजदूत पार्कको कार्यकाल सफलताको शुभकामना दिँदै तेक्वान्दोको माध्यमबाट २ देशबीचको सम्बन्ध थप सुधारका लागि सदैव अग्रसर रहने बताए । राजदूत पार्कले नेपाल आएको थोरै समय भए पनि नेपाली निकै राम्रा रहेको बताए । उनले भने ‘मैले यहाँ रिपब्लिक डे मनाउने अवसर पाएँ । त्यसको माध्यमबाट पनि धेरै कुरा हेर्न अवसर मिल्यो ।’ राजदूत पार्कले नेपाली तेक्वान्दोको ऐतिहासिक सफलताको प्रशंसा गर्दै इन्डोनेसियामा हुने आगामी एसियन गेम्समा नेपाली तेक्वान्दोले पदक ल्याउने विश्वास व्यक्त गरे ।

उनले कोरियाले ओलम्पिकमा निकै सफलता हात पारेको बताउँदै नेपालमा पनि त्यस्तै किसिमको सफलताका लागि आफ्नो साथ सदैव रहने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्षसमेत रहेका डिआइजी पंकज श्रेष्ठ, संघका महासचिव एवं संस्थापक दीपराज गुरुङ, राष्ट्रिय टिमका खेलाडी तथा प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया