सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : धन र सञ्जयको संयुक्त अग्रता

golf championship Dhana Thapa

काठमाडौं । धनबहादुर थापा र सञ्जय लामाले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन संयुक्त रूपमा अग्रता कायम गरेका छन् । गोकर्ण गल्फ क्लबमा सोमबार भएको पहिलो दिनको खेलमा आर्मीका प्रो.धन र लामाले समान ७ अन्डर ६५ स्कोर गर्दै शीर्ष स्थानमा अग्रता बनाए । उनीहरूले नेपाल नम्बर एक प्रो. शिवराम श्रेष्ठमाथि १ स्ट्रोकको अग्रता बनाए । पार–७२ को गोकर्ण गल्फ कोर्समा श्रेष्ठले ६ अन्डर ६६ स्कोर गरे । एमेच्योर गल्फर शुक्र बहादुर राईले चौथो स्थानमा अग्रता बनाउँदा ४ अन्डर ६८ स्कोर गरे । प्रो. गल्फर सूर्यप्रसाद शर्मा (६९) शुक्रभन्दा १ स्ट्रोकले पछि परे ।
त्यस्तै रामे मगर, भुवन नगरकोटी र बलभद्र राईले समान १ अन्डर ७२ स्कोर गर्दै सातौँ स्थानमा अग्रता बनाए । ४ गल्फर तीर्थ पौडेल, राजेन्द्र थापा, चुडाबहादुर भण्डारी र एमेच्योर गल्फर विजय श्रेष्ठ इनहास इभन पार ७२ स्कोरसहित संयुक्तरूपमा नवौँ स्थानमा छन् । २ एमेच्योर गल्फर टासि घले र टंकबहादुर कार्कीले प्रो.गल्फर विष्णुप्रसाद शर्मासँग समान १ ओभर ७३ स्कोर कार्ड बनाउँदा १३औँ स्थानमा अग्रता बनाए । शीर्षस्थानका धन र सञ्जयले फ्रन्ट नाइनमा समान ५ अन्डर ३१ बनाउँदा ब्याक नाइनमा पनि २ अन्डर ३४ को समान स्कोर कार्ड बनाए । दुवैले ८ बर्डिज प्रहार गर्दा १ बोगीको सामना गरे । फ्रन्ट नाइनमा बोगीबाट बचेका धनले तेस्रो, चौथो, पाँचौँ, सातौँ र नवौँ होलमा बर्डिज प्रहार गरे । उनले ब्याक नाइनमा भने १२औँ, १५औँ र १७औँ होलमा बोगी प्रहार गरे पनि १६औँ होलमा बोगीको सामना गरे ।
लगातार २ होलमा बर्डिज प्रहार गर्दै दिनको सुरुआत गरेका सञ्जयले चौथो, छैठौँ र सातौँ पुनः बर्डिज गर्न सफल भए । सञ्जयले ब्याक नाइनको १०औँ, १२औँ र १५औँ होलमा बर्डिज प्रहार गरे पनि पार–५ को ११औँ होलमा बोगी खेपे । शिवरामले भने फ्रन्ट नाइटमा ५ र ब्याक नाइनमा १ बर्डिज प्रहार गरे । सूर्य नेपाल गल्फ टुर २०१६÷०१७ का लागि अन्तिम इभेन्टमा ३६ प्रो र १२ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागिता रहेको छ । ७२ होलमा खेलिने इभेन्ट सोमबारदेखि बिहीबारसम्म चल्नेछ । २ चरणको खेलपछि शीर्ष २४ व्यावसायिक र शीर्ष ६ एमेच्योर गल्फरहरू मात्र अर्को चरणमा प्रवेश गर्नेछन् ।

विजेताले २ लाख २० हजार रुपैयाँ पाउनेछन् भने उपविजेता र तेस्रो स्थानका खेलाडीले क्रमशः १ लाख ३४ हजार र ९० हजार रुपैयाँ हात पार्नेछन् । चौथो स्थानका खेलाडीले ७४ हजार जित्दा पाँचौँ स्थानको खेलाडीले ६५ हजार रुपैयाँ आफ्नो पोल्टामा पार्नेछन् । शीर्ष २४ मा अटाउने खेलाडीले नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ । शीर्ष वरीयताका प्रो.गल्फर शिवराम श्रेष्ठ सँगै भुवन नगरकोटी, सञ्जय लामा र रबि खड्का प्रतियोगिताका दावेदारका रूपमा रहेका छन् । एमेच्योरतर्फको उपाधिका लागि भने शुक्रबहादुर राई, टंकबहादुर कार्की, तेन्जिङ छिरिङ, शिवकुमार माझी र टासि घलेको प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया