राष्ट्रिय खेलप्रति सेन्ट डेभिसमा उत्सव

rastriya khel ko utsab

काठमाडौं ११ जेठ । । भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा सुकेधारा निलोपुलस्थित सेन्ट डेभिस एकेडेमीले उत्सव मनाएको छ । विद्यालय प्रांगणमा मनाइएको उत्सव कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवी ताम्साङ, नेपाल भलिबल संघ विद्यालय कमिसनका सदस्य एवं प्रशिक्षक अम्बिका ओली, सेन्ट डेभिस भलिबल टिमका म्यानेजर डेबिट कुमार ताम्साङ र विद्यालयकै भलिबल खेलाडीले भव्यताका साथ राष्ट्रिय खेलको उत्सव मनाए । एकेडेमीका खेलाडीले ताली बजाउँदै राष्ट्रिय खेलको घोषणाको स्वागत गरे ।

सेन्ट डेभिस एकेडेमीका भलिबल ओलीले लामो समयदेखि भलिबलमा संलग्न रहँदै आएको अवस्थामा भलिबललाई सरकारले राष्ट्रिय खेल घोषणा गरेर सम्पूर्ण भलिबल प्रेमीलाई खुसी तुल्याएको बताए । उनले राष्ट्रिय खेलको घोषणासँगै नयाँ चुनौती पनि थपिएकाले भलिबललाई नयाँ सिराबाट अगाडि बढाउन सरकारको पनि उत्तिकै सक्रियता हुनुपर्ने बताए । प्रशिक्षक ओलीले राष्ट्रिय खेल विकासका लागि मेची–महाकालीदेखि नै सरकारले अभियानको रूपमा भलिबल खेललाई अगाडी बढाउने पर्ने बताए । एकेडेमी राष्ट्रपति रनिङ सिल्डलगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट टोलीको रूपमा रहँदै आएको छ । विगत ५ वर्षदेखि एकेडेमी राष्ट्रपति रनिङ सिल्डअन्र्तगत क्षेत्र नम्बर ४ मा च्याम्पियन रहँदै आफ्नो वर्चस्व कायम गर्दै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्ले सोमबार बेलुका लामो समयदेखि पर्खंदै आएको नेपालको राष्ट्रिय खेलको धैर्यतालाई तोड्दै भलिबललाई चयन गरेको थियो । यसअघि नेपालको राष्ट्रिय खेलको छनोट समितिले सिफारिस गरेको ३ खेल भलिबल, तेक्वान्दो र कबड्डी मध्येबाट ७५ जिल्लामा खेलिने भलिबललाई राष्ट्रिय खेल चयन गरेको थियो ।

प्रतिक्रिया