मौन अवधिको पूर्ण पालना गर्न आयोगको आग्रह: सुरक्षा टोली ‘हाइ अलर्टमा’ सब हेड

nirbachan

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको मौन अवधिको पूर्णरूपमा पालना गर्न र गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई पुनः आह्वान गरेका छन् ।सहन्यायाधिवक्ता खेमराज ज्ञवालीद्वारा लिखित ‘लोकतान्त्रिक निर्वाचन व्यवस्थापन’ पुस्तकको राजधानीमा शुक्रबार विमोचन गर्दै डा.यादवले भने, ‘केही स्थानमा राजनीतिक दल र उम्मेदवारबाट मौन अवधिको अवज्ञा भइरहेको भन्ने सूचना प्राप्त भएको छ, यो ठीक भएन, प्रचारप्रसार गर्ने कार्य तत्कालै रोक्नूस् ।’ राष्ट्र, जनता र लोकतन्त्रको स्थायित्वका लागि हुन लागेको निर्वाचनको महाअभियानअन्तर्गत मतदानमा घरायसी अरू सबै काम छाडेर सहभागी हुन आग्रह गर्दै डा.यादवले निर्वाचन आचारसंहिताविपरीत हुने जुनसुकै कार्यलाई निरुत्साहन गर्न नागरिक समूहलाई सुझाव दिए । उनले भने, ‘पहिलो चरणको निर्वाचनमा खटिएका मतदान अधिकृत सबै आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगेर धमाधम मतदाता परिचयत्र वितरण गरिरहनुभएको छ, निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन आयोगले कुनै कसर बाँकी राखेको छैन, तयारीमा कुनै कमजोरी छैन ।’
कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले संवैधानिक लोकतन्त्रमा विश्वास गर्नेले संविधानअनुरूप राजनीति चलाउनुपर्छ, राजनीतिअनुसार संविधान चल्न सक्दैन भन्ने बुझ्न आवश्यक छ भने ।पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन तथा संविधान, गणतन्त्र र लोकतन्त्रलाई स्थायित्व दिनका लागि आगामी माघ ७ गतेभित्र तीन तहकै निर्वाचनको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।संविधानविद् चन्द्रकान्त ज्ञवालीले कृति निर्वाचनबारे अध्ययन, अध्यापन र अनुसन्धान गर्नेका लागि अत्यन्त उपयोगी रहेको बताए । यसैबीच सरकारले स्थानीय तहको चुनावका लागि मतदान गर्न एक दिन मात्रै बाँकी रहँदा सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचन हुने ३, ४ र ६ नं. प्रदेशका केही ठाउँमा बम विस्फोटनका घटना भएकाले मतदान केन्द्रहरूमा सुरक्षा टोली उच्च अवस्थामा राखिएको गृहमन्त्रालयले जनाएको छ ।
‘निर्वाचनविरोधी समूहले विस्फोट गराएको हो’, मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘निर्वाचन हुन नदिन घरदैलोसमेत गरेको विप्लव नेतृत्वको समूहले अहिले आएर बम विस्फोट गराउन थालेको छ । मतदान केन्द्रमा सुरक्षा टोली उच्च अवस्थामा तयार राखिएको छ । विस्फोटक पदार्थ भित्र्याउन नदिन विशेष निगरानी राखिएको छ, दक्ष टोली परिचालित छ ।’उनका अनुसार चुनावविरोधी गतिविधि गर्ने विप्लव माओवादीका एक सय ५९ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएर अनुसन्धान अघि बढाएको छ । शुक्रबार राती तीन बजेतिर भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताको घरमा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको छ । विस्फोटबाट सामान्य क्षति भएको छ । विस्फोट कसले गरायो भन्ने यकिन नभए पनि प्रहरीले विप्लव माओवादीले गराएको हुन सक्ने आशंका गरी अनुसन्धान अघि बढाएको छ ।
त्यसैगरी शुक्रबार बिहान करिब पाँच बजे मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको भोलटार बुथ नजिकै दुईटा बम विस्फोट भएको थियो । यता शुक्रबार नै मकवानपुरको पालुङ बजार नजिकै पनि बम विस्फोट भएको थियो । यसअघि बुधबार राती १२ बजे लोकन्थलीमा पनि सिलिन्डर बम विस्फोट गराउने तयारी गरेको थाहा भएपछि नेपाली सेनाको टोलीले बम निष्क्रिय गरेको थियो ।बम विस्फोटको विषयमा अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । तर, विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुन सक्ने प्रहरीको आशंका छ । मतदानको एक दिन मात्र बाँकी रहेका बेला निर्वाचनलाई लक्षित गरेर विभिन्न जिल्ला शक्तिशाली बम विस्फोट गराउन थालेका छन् । त्यस्तै नवलपरासीमा पनि पछिल्लो दुई दिनयता तीन स्थानमा बम भेटिएका छन् । यद्यपि, बम डिस्पोजल टोलीले सबै बम निष्क्रिय बनाएको छ ।
यस्तै स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा शुक्रबार बिहान बम फेला परेको छ ।गल्याङ प्रहरी चौकीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा बम फेला परेको हो । प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक पाण्डेले बताए ।यसैगरी सप्तरीको राजविराजस्थित नापी कार्यालयमा प्रेस कुकर बम विस्फोट भएको छ । विस्फोटबाट नापी कार्यालयमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जनतान्त्रिक तराई मुक्ति मोर्चाले उक्त विस्फोटको जिम्मा लिएको छ । अहिले अवस्था सामान्य रहेको छ ।
मापसे गरेर भोट हाल्न मनाही
स्थानीय तहको निर्वाचनका लागि हुने मतदानमा मतदाता सूचीमा नाम छ भने पनि तपाईंले भोट दिन नपाउने अवस्था आउन सक्छ । यसको त्यसको एउटै मात्र कारण हुनसक्छ मादक पदार्थ सेवन (मापसे) । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३६ को उपदफा २ अनुसार मदिरा सेवन गरेको व्यक्तिलाई मतदान केन्द्रमा प्रवेश निधेष गरिएको छ ।  ऐनमा भनिएको छ, ‘कुनै प्रकारको हतियार साथ लिएको वा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए तापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश दिने छैन ।’ त्यसैगरी निर्वाचन अधिकृतको कार्यालयले २८ वैशाखदेखि मतदान केन्द्र वरपरको क्षेत्रमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको छ ।  यसलाई उल्लंघन गरे २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

निर्वाचन अनुगमन टोली गठन
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि आयोगका अध्यक्ष अनुपराज शर्माको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।
नागरिक समाजका प्रतिनिधि संलग्न रहेको उक्त टोलीमा पूर्वप्रधानन्यायाधीश तथा आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्याय, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वनिर्वाचन आयुक्त प्राडा वीरेन्द्र मिश्र, प्राडा सूर्य ढुंगेल तथा अधिवक्ता मीरा ढुंगाना रहेको आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी गराइन् । यसअघि आयोगले अधिकृतस्तरको अनुगमन टोली स्थानीय तहमा खटाइसकेको छ । उनले टोलीले समग्रमा स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने बताइन् ।

प्रतिक्रिया