चुनावअघिको अन्तिम सेयर कारोबार: सबै उपसूचक हरिया

काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनावअघिको अन्तिम कारोबार दिन सेयर बजारमा केही उत्साह देखिएको छ । कारोबारमा आएका सबै उपसूचक हरियो हुँदा बिहीबार सेयर बजार बढेको हो । केहिदिन देखि सुस्ताएको कारोबार रकम पनि साताको अन्तिम दिन बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ दशमलव ७७ अंकको बढोत्तरीसँगै १६५८ दशमलव ५८ अंकमा उक्लिएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव २५ अंकले बढेर ३५३ दशमलव ७९ अंकमा पुगेको छ ।
बिहीबार १ सय ४७ कम्पनीका २० लाख कित्ता सेयर ९० करोड रुपैयाँमा खरिद बिक्री भए । आज सबैभन्दा बढी सनराइज बैंकको सेयर किनबेच भयो । बैंकको ७ करोड ४८ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको हो । बैंकको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हुँदा लगानीकर्ता तानिएका हुन् । कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स ५ करोड रुपैयाँको सेयर किनबेच भयो ।
बिहीबार बजारमा तीव्र उतारचढाव देखिए पनि बन्द हुँदा कारोबारमा आएका सबै उपसूचक बढेका छन् । बैंकिङ १ दशमलव ४१, होटल ६ दशमलव ४४, विकास बैंक १ दशमलव ९२, जलविद्युत् १९ दशमलव २, फाइनान्स ४ दशमलव ९४, इन्स्योरेन्स ४५ दशमलव ४६, उत्पादनमुलक ८ दशमलव ०५ र अन्य समूह १८ दशमलव ५१ अंकले बढेक छन् ।आजको कारोबारमा दिव्यश्वरी हाइड्रो पावर कम्पनी र रिढी हाइड्रो पावर कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् भने साहारा विकास बैंकका सेयरधनीले करिब ८ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया