आर्थिक मर्म बुझेका स्थानीय तहका प्रमुखको खोजी

main news ....chitawan paddy-plantation-lo

चितवन । उद्योग व्यवसायको विकासविना कुनै पनि स्थानीय तह समृद्ध हुन नसक्ने भन्दै यहाँका उद्योगी व्यवसायीले आर्थिक मर्म बुझेका, दूरदर्शी उम्मेदवार निर्वाचित हुनुपर्नेमा जोड दिएका छन् । उद्योग वाणिज्य संघका जिल्लाअध्यक्ष राजन गौतमले औद्योगिक क्षेत्र छुट्याएर उद्योग गर्ने वातावरण सिर्जना गर्न नेतृत्व तहले पहल गर्न सक्नुपर्ने बताए । जुन क्षेत्रमा उद्योग व्यवसाय फस्टाउन सक्छ, त्यो क्षेत्रको विकास हुने हुँदा औद्योगिक वातावरण सिर्जना गर्न सक्ने खालका स्थानीय तहका प्रमुखको खाँचो रहेको बताए ।
अहिलेसम्म उद्योग व्यवसाय गर्नेलाई सरकारले विपक्षीको रुपमा हेर्ने गरकामा आफ्नो नगर र गाउँलाई उद्योगमैत्री बनाएर यो सरकारी काम नै हो भन्ने भावना विकास गर्न उद्योगी व्यवसायीले चाहेका उनले बताए । जिल्लामा ३ हजारभन्दा बढी साना ठूला उद्योग सञ्चालनमा छन् । राजधानी काठमाडौं नजिक रहेकाले काठमाडौंका जनता पाल्नका लागि पनि यहाँ उद्योग आवश्यक देखिन्छ । उपत्यकामा जनघनत्व बढेकाले उद्योग स्थापना गर्ने ठाउँ अभाव हुँदै गएको छ । त्यहाँको माग पूर्ति गर्ने छिमेकी जिल्लामध्ये प्रमुख जिल्ला चितवन मानिन्छ अध्यक्ष गौतमले भने । उद्योग संघका जिल्ला अध्यक्ष भीमबहादुर पाण्डे चितवनलाई आर्थिक राजधानीको रूपमा विकास गर्नुपर्ने हुँदा त्यस्ता योजना बनाउन सक्ने प्रमुखहरूको खाँचो यो जिल्लालाई रहेको बताए । नगर वा गाउँ होस् त्यसलाई अग्रस्थानमा पु¥याउन उद्योग नै चाहिने भन्दै उनले उद्योगविना नगर समृद्ध र सम्मुनत नहुने बताए ।
उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले देशमा बढेको बेरोजगारी समस्या समाधान गर्न उद्योग नै आवश्यक पर्ने भन्दै उनले यो नगर समृद्ध बनाउने प्रमुख माध्यम उद्योग नै हो भने । खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठले व्यवसायीको हकहितमा काम गर्न सक्ने प्रमुखको खोजी भइरहेको उल्लेख गरे । यो पार्टी र ऊ पार्टीभन्दा पनि स्थानीय तहका जनताको भावना बुझेर उद्योग व्यवसायलाई प्राथमिकता दिन सक्ने प्रमुखको खोजी अहिले भइरहेको उनले बताए । चितवन जिल्ला पोल्ट्री केन्द्रका रूपमा विकास भइरहेको छ । देशभरमा ७० अर्बभन्दा बढी पोल्ट्रीमा लगानी छ । त्यसको ५० प्रतिशतभन्दा बढी पोल्ट्रीको लगानी चितवनमा नै छ ।

जनतालाई कम रकममा आवश्यक तत्व कुखुराजन्य पदार्थबाट मात्रै परिपूर्ति गर्न सकिने भन्दै नेपाल पोल्ट्री महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले यसको मर्म बुझेको प्रमुख भएमा पोल्ट्रीको विकास गर्न सकिने बताए । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा पर्यटन क्षेत्रको विकासका लागि यसको महत्व बुझेको प्रमुखको खाँचो रहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । अर्बौं रुपैयाँको लगानी भएको पर्यटन क्षेत्र यहाँ रहेको भन्दै उनले स्वदेश र विदेशसम्म यसको प्रचारप्रसारका लागि पनि अबका प्रमुखको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । जिल्लामा १ महानगरपालिका, ५ नगरपालिका र १ गाउँपालिका छ ।

प्रतिक्रिया