पुनर्वास काण्डको डेढ महिना बित्दा सीमा नाका सामान्य बनेन

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमानाका अझै सहज बन्न सकेको छैन । नेपाल–भारत सिमानामा पर्ने खोलामा कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा गोविन्द गौतमले शहादत प्राप्त गरेपछिका तनावपूर्ण बनेको स्थिति अझै पूर्णरूपमा सामान्य बनेको छैन । घटना भएकै दिन स्थानीय प्रशासनले तत्कालका लागि सो क्षेत्रका सीमानाका बन्द गरेपछि अहिले स्थानीय संघर्ष समितिले सीमाको अवरोध जारी राखेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए ।
‘घटना भएकै दिन केही समयका लागि नेपाल–भारत सीमानाकामा आवागमन रोकिएको हो’ प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘हाल आएर स्थिति सामान्य बने पनि सीमानाकाबाट नेपाल–भारत आवागमन त्यति सहज बन्न सकेको छैन ।’ घटनापछि स्थानीय संघर्ष समिति बनाएर सीमा व्यवस्थापनका साथै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन गठित समितिले नेपाल–भारत सीमानाका आवागमनमा सहजता ल्याउनतर्फ जोड दिनुपर्ने स्थानीय प्रशासनको भनाइ छ ।
‘नेपाल–भारत संयुक्त सर्भे टिमले हराएका सीमास्तम्भलगायत सीमा व्यवस्थापनका लागि सो क्षेत्रमा अहिले पनि स्थलगत काम गरिरहेको छ’ खनालले भने, ‘सीमानाका सहज बनाउन स्थानीयले पनि अब सहयोग गर्नुपर्छ ।’ सो क्षेत्रको नाका सहज नहुँदा भारतीय सीमावर्ती बजार बढी प्रभावित बनेको पुनर्वासका स्थानीयको भनाइ छ । नेपालका ग्राहकमा आश्रित सीमावर्ती भारतीय बसही, सम्पूर्णानगर, खखुरियालगायतका बजार प्रभावित बनेका छन् । उता भारतीय नागरिक पनि दक्षिण क्षेत्रका सीमानाकाबाट नेपाल आउन सकिरहेका छैनन् ।

प्रतिक्रिया