खोजखबर

औलोका बिरामी घट्दै

सौर्य अनलाइन २०७४ वैशाख १७ गते १०:४३ मा प्रकाशित

कञ्चनपुर । लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामी कञ्चनपुरमा प्रति वर्ष घट्दै गएका छन् । विषादीरहित झुलको प्रयोगमा व्यापकता र औलोका जीवाणु सार्ने लामखुट्टे नियन्त्रण गर्नका लागि विषादी छर्कने कार्य निरन्तर रूपमा गरिँदै आएकाले औलो रोगका बिरामीप्रति वर्ष घट्दै गएका हुन् ।
औलोका बिरामीको संख्या प्रतिवर्ष घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका किटजन्य रोग अधिकृत हेमराज जोशीले भने, ‘सरकारी लक्ष्य अगावै कञ्चनपुरलाई औलो निवारण जिल्ला घोषणा गर्छौं ।’
उनका अनुसार यहाँ सन् २०१६ देखि सन २०१७ को हालसम्म रगतको नमुना लिइएका १३ हजार ८ सय ७५ जनामध्ये ६५ जना औलोका बिरामी फेला परेका छन् । औलो रोगको पुष्टि भएका ६५ जनामध्ये ४८ जना जिल्ला बाहिरका र जिल्लाका १७ जनामा मात्रै औलो रोग देखापरेको अधिकृत जोशीले बताए ।
कञ्चनपुर औलो प्रभावित २५ जिल्लामध्ये औलोको दोस्रो उच्च जोखिममा पर्दछ । यहाँ बसोवास गर्ने बासिन्दामा औलोको बढी जोखिम नरहेपनि भारतमा लामो समय काम गरेर फर्कने अधिकांशमा औलोको जोखिम बढ्दो रूपमा रहेको पाइएको छ । जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार कञ्चनपुरमा सन् २०११ मा २ सय ६०, सन् २०१२ मा ७१, सन् २०१३ मा ७२, सन् २०१४ मा ८१ र सन २०१५ मा ७५ जना औलोका बिरामी फेला परेका थिए ।
कञ्चनपुरमा सन् १९९५ देखि औलो निवारणका लागि कार्यक्रम निरन्तर रूपमा सञ्चालन हँुदै आएका छन् ।
कञ्चनपुरलाई सन् २०२६ भित्र औलो निवारण घोषणा गर्ने कार्यक्रम रहेको छ । ‘सदाका लागि औलो अन्त्य गरौं’ भन्ने नारासहित जनचेतनामूलक कार्यक्रमका साथ शनिबार कञ्चनपुरमा विश्व औलो दिवस मनाइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय