पारसको टिम चौराहाले जित्यो धनगढी प्रिमियर लिगको उपाधि

Dhangadhi Team Chauraha
धनगढी । विराटनगर किंग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै पारस खड्काको टिम चौराहाले धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । घरेलु टोली टिम चौराहाले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो । खेल अवधिभर विराटनगरले ठूलो साझेदारी नै गर्न सकेन । उसको सबैभन्दा ठूलो साझेदारी भनेको दोस्रो विकेटका लागि २३ रन नै रहृयो । उसका लागि प्रनित थापा मगरले सर्वाधिक २६ रन बनाए भने अमित श्रेष्ठले २६ रनको योगदान दिए । अन्य ब्याट्सम्यान चल्न सकेनन् । कप्तान शरद भेषवाकर मात्र २ रनमा आउट भएका थिए । टिम चौराहका सुशन भारीले ३ विकेट लिए भने आरिफ शेख र शौरभ खनालले २–२ विकेट लिए । रामनरेश गिरी र अलित राजवंशीको नाममा १–१ विकेट रहृयो ।
यसअघि सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ थालेको टिम चौराहाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । उसको सुरुआत खराब थियो । राजु रिजाल शून्यमै आउट भए, जतिबेला टिमको स्कोर मात्र ४ रन थियो । थप रन नजोड्दै अनिल मण्डल पनि आउट भए । पृथु बास्कोटा र कप्तान पारस खड्काले पारी सम्हाल्ने प्रयास गरे तर, पृथु पनि १४ रन बनाएर आउट भए । त्यसपछि आएका आरिफ शेख चम्किए । उनले चौथो विकेटका लागि पारससँग ४४ रनको साझेदारी गरे । पारस २९ रनमा आउट भए, जतिबेला टिम चौराहाको स्कोर ८१ रन मात्र थियो र ५ ओभर १ बल मात्र खेल बाँकी थियो ।
तर, आरिफ र अमर रौतेलाले उत्कृष्ट ब्याटिङ गर्दै टिमको स्कोर उकासे । उनीहरूले पाँचौँ विकेटका लागि मात्र २४ बलमा ६३ रनको साझेदारी गरे । आरिफले ३० बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए । अमर ३१ रनमा अविजित रहे भने शौरभ खनालले नटआउट १४ रन बनाए । विराटनगरका सुशील कँडेलले दुई तथा जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकाश विष्टले समान १–१ विकेट लिए । उपाधिसँगै टिम चौराहाले १५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उप–विजेतामा चित्त बुझाएको विराटनगरले ७ लाख प्राप्त ग¥यो । प्रतियोगिताको सुरुआती ३ खेल गुमाएको पारसको टिम चौराहाले लिग चरणका अन्तिम २ खेल जित्दै प्लेअफमा मुस्किलले स्थान बनाएको थियो । त्यसपछि लगातार जित निकाल्दै चौराहाले उपाधि जित्न सफल भयो । चौराहाले एलिमिनेटरमा काठमाडौं गोल्डेन्स र दोस्रो क्वालिफायरमा रुपन्देहीलाई पराजित गरेको थियो ।
यता, लिगको दोस्रो स्थानमा रहँदै प्ले अफमा स्थान बनाएको विराटनगरले पहिलो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । धनगढीका ३ खेलाडी सर्वाधिक रन बनाउने सूचीको शीर्ष ३ मा परेका छन् । प्रतियोगिताभरमा १ सय ७५ रन बनाएका धनगढीका कप्तान पारस खड्का शीर्ष स्थानमा छन् । उनले ८ इनिङसमा १७ चौका र ९ छक्का प्रहार गरे । दोस्रो स्थानमा रहेका धनगढीका आरिफ शेखले १५ चौका र ९ छक्काको मद्दतमा १ सय ६८ रन बनाए । तेस्रो स्थानका धनगढीकै अनिल मण्डलले ११ चौका र ५ छक्काको मद्दतमा १ सय ५१ रन बनाए । ११ चौका र ७ छक्काको मद्दतमा १ सय ४७ रन बनाएका विराटनगरका कप्तान शरद भेषावकर चौथो स्थानमा छन् । रुपन्देही च्यालेन्जर्सका प्रकाश केसी पाँचाँै स्थानमा छन् ।
सर्वाधिक विकेट लिने सूचीमा विराटनगरका सुशील कँडेल शीर्षमा छन् । उनले सात खेलमा १७ विकेट लिए । उनले यसक्रममा १ सय ५९ रन दिए । उनी प्लेयर अफ द सिरिज पनि भएका छन् । उनले टिभिएसको अपाचे मोटरसाइकल पुरस्कार पाएका छन् । दोस्रो स्थानमा रहेका रूपन्देही च्यालेन्जर्सका शाहब आलमले ७ खेलमा १ सय ४२ रन दिएर १६ विकेट लिए । तेस्रो स्थानमा रहेका रूपन्देहीका कृष्ण कार्कीले ७ खेलमा १ सय ६२ रन दिएर १३ विकेट लिए । धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनमा २८ चैतबाट सुरु भएको चौथो संस्करणको डिपिएलमा ६ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया