नेतृत्व गर्न महिलामा उत्साह

चितवन । १९ वर्षअघि भएको स्थानीय निकायको निर्वाचनमा चितवनबाट पदाधिकारी पदमा एक जना महिलाको मात्र उम्मेदवारी परेको थियो । तर, अब हुन लागेको स्थानीय तहको निर्वाचनमा महानगरदेखि गाउँपालिकासम्मको नेतृत्व तहमा महिलाले उम्मेदवारी दिने आँट गरेका छन् । राजनीतिक परिवर्तनका लागि हुने विभिन्न आन्दोलनमा महिलाको सहभागिता उल्लेखनीय रह्यो । मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै संवैधानिक रूपमा नै कूल उम्मेदवारीको ४० प्रतिशत अवसर प्राप्त गरेपछि महिलामा यो ऊर्जा थपिएको हो । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठकाअनुसार जिल्लाका सात स्थानीय तहमध्ये चार वटाको प्रमुखमा महिलाले दाबी गरेका छन् । कांग्रेसका तर्फबाट रत्ननगरको प्रमुखमा गंगामाया भन्तना, राप्तीमा अनिता मैनाली, खैरहनी नगरपालिकामा सुुशीला उप्रेतीले दाबी गरेका छन् भने इच्छाकामना गाउँपालिकामा गीता गुरुङले दाबी गरेकी श्रेष्ठले जानकारी गराए ।
त्यस्तै महानगर, नगर र गाउँपालिकाको उपप्रमुखमा अधिकांश महिलाकै दाबी छ । प्रमुख वा उपप्रमुख पदमध्ये एक महिला हुनुपर्ने प्रावधानअनुसार अधिकांश महिलाको दाबी उपप्रमुखमा छ । भरतपुर महानगरपालिकमा कांग्रेसकातर्फबाट ३२ जना पुरुषले प्रमुखमा दाबी गरेका छन्, भने १५ जनाले उपप्रमुखको दाबी गरेका छन् । उपप्रमुखको दाबी गर्नेमा एक पुरुष र १४ महिला छन् । एमालेमा भरतपुर महानगरपालिकामा सूर्यबदना हमाल र उमा कार्कीले प्रमुख पदमा दाबी गरेका छन् भने राप्ती नगरपालिकाको प्रमुखमा प्रभा बराल, माडीमा बिना तिमिल्सिनाले दाबी गरेको एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले बताए ।
पार्टीले केन्द्रमा तीन जना सिफारिस गर्दा प्रमुख र उपप्रमुख एक÷एकजना महिला सिफारिस गर्नैपर्ने बताउँदै उनले वडा तहमा पनि महिलाको दाबी रहेको बताए ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष यमबहादुर परियारले महिलाको सक्रियता निकै राम्रो रहेको बताइन् । पार्टीको क्षेत्र तहमा नै छलफल भइरहेकाले एकिन अहिले भन्न नसकिए पनि महिलाको सिफारिस सकारात्मक ढंगबाट आइरहेको र सन्तोषजनक रहेको उनले बताइन् ।
केही दिनमा उम्मेदवारी तय भएपछि एकिन भन्न सकिने उनले बताइन् । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले नगर र गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा महिलाको दाबी रहेको भन्दै अधिकतम महिलाको सहभागिता रहने बताए । ७ वैशाखमा टुंगो लाग्ने भन्दै उनले सक्रिय राजनीतिमा महिला लागेकाले आशालाग्दो उपस्थिति पार्टीमा हुने बताए ।
चितवन क्षेत्र नम्बर–४ का कांग्रेसका तर्फबाट निर्वाचित सांसद एवं पूर्व पार्टी सभापति रामकृष्ण घिमिरे ०५४ सालमा स्थानीय निकायको निर्वाचन हुँदा शिवनगर गाउँ विकास समितिमा समग्र महिलाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा ईन्द्र गुरुङले विजयी हासिल गरेको बताउँछन् । आफ्नो पार्टीकोबाहेक कसैको पनि मुख्य पदमा जिल्लामा महिला उम्मेदवारको जित नभएको उनले बताए । अहिले महिलाको सहभागिता निकै राम्रो रहेको घिमिरेले बताए । चितवन क्षेत्र नम्बर–३ बाट एमालेका तर्फबाट निर्वाचित सांसद एवं एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोख्रेल ०५४ सालमा पदाधिकारी तहमा एमालेका तर्फबाट महिलामा भोजपुर जिल्लाको उपसभापति जयन्ती राईले मात्र निर्वाचनमा विजयी भएको बताउँछन् ।
संवैधानिक रूपमा महिलालाई अवसर दिएका कारणले पनि महिलामा यो ऊर्जा आएको उनको ठम्याइ छ । नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह संविधानले तोकेभन्दा बढी उम्मेदवार महिला बनाउन आफू लागिरहेको बताउँछिन् । स्थानीय तह महिलाले हाक्नसक्ने भन्दै उनले ‘सक्षम उम्मेदवार महिला रहेको बताउनुभयो ।’ एमाले चितवनका सचिव एवं महिला नेतृ दिलकुमारी रावल कानुनी व्यवस्थाले गर्दा महिलामा यो ऊर्जा पैदा भएको बताउँछिन् । जनतामा महिलाले काम गर्न सक्छन्, भन्ने विश्वास दिलाउन सकेकाले महिला उम्मेदवारको विजय सहज रहेको पनि उनले बताइन् ।
माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी चितवनकी अध्यक्ष संगीता भट्टराई साथीको इच्छा प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा रहेको बताउँछिन् । जिल्लामा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, राप्ती, कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका छन् ।

प्रतिक्रिया