डिपे्रशनका रोगी बढ्दै

काठमाडौं । विश्वमा जस्तै नेपालमा पनि विभिन्न कारणले उदासीनता अर्थात् डिप्रेसनका रोगी बढेको चिकित्सकले बताएका छन् । अझै पनि मानसिक समस्यालाई लुकाएर राख्ने उपचारमा नजाने कारणले गम्भीर खालका घटनामा वृद्धि भएको छ । यसबारेमा सबैले खुलेर कुरा गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सक डा सरोजप्रसाद ओझा बताउछन् । यस वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘डिप्रेसनः लेट्स टक’ अर्थात् उदासीनताबारे खुलेर कुरा गरौँ भन्ने नारालाई वार्षिक अभियानकै रुपमा अगाडि बढाएको थियो ।
उदासीनता कमजोरी नभई एउटा रोग भएकाले उपचार गरे निको हुने बताइएको छ । नेपालमा नौ हजार व्यक्ति उदासीनताबाट पीडित भएको जनाइएको छ । संगठनको तथ्यांकअनुसार विश्वमा करिब तीन करोड मानिस उदासीनताबाट पीडित छन् । सन् २००५ यता दश वर्षका अवधिमा सो रोगका बिरामीको संख्या १८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । डा ओझाका अनुसार विश्वमा १५ वर्षदेखि २९ वर्ष उमेरका मानिसको मृत्युको प्रमुख कारण उदासीनताबाट आत्महत्या देखिएको छ ।
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा कपिलदेव उपाध्याय उसदासीनताबारे बुझेर समयमै उपचार गरेमा रोग सजिलै रोकथाम गर्न सकिने बताउछन् । उनले जीवनशैलीलाई सन्तुलन राख्ने, शारीरिक व्यायाम गर्ने र सराकारात्मक सोच राखेमा यसबाट बच्न सकिने बताए । डा ओझाले भने, ‘मानसिक रुपमा हतास हुने समस्या उदासीनता हो । मनमा जागृत भएको हीनभावना बढ्दै गएमा नकारात्मक सोच विकास भएर आत्महत्या गर्नेसम्मका घटना हुन सक्छ ।’
अनावश्यक सोचाइ आउने, दिक्दारी लाग्ने, कुनै पनि चिजमा चाख नलाग्ने, खुसी अनुभव नहुने र थकित महसुस भइरहने भएमा उदासीनता रोग हुन सक्छ । नेपालमा एकदेखि दुई प्रतिशत जनतामा कडा खालको मानसिक रोग र पाँच प्रतिशतमा मध्यम खालको मानसिक रोग भएको अनुमान छ ।
उदासीनताबाट सबैभन्दा धेरै महिला पीडित भएको पाइएको छ । आफूमा भएको समस्यालाई अरुसामु व्यक्त गर्न नसक्ने र व्यक्त गरिहाले पनि परिवार, समाजले सहज रुपमा नबुझ्ने भएकाले रोग लुकेरै रहने गरेको डा ओझाको अध्ययन छ ।

प्रतिक्रिया