नियमित योगले आत्महत्या गर्ने क्रम घट्छ

रोल्पा । रोल्पाका स्थानीय विकास अधिकारी सुशील वैद्यले नियमित योग र व्यायामले आत्महत्या न्यूनीकरण हुनसक्ने बताएका छन् । समाजमा विकासको क्रमसँगै मानिसमा मानसिक समस्या बढ्दै जाने वा मान्छे डिप्रेसनमा गएर आत्महत्या गर्ने क्रम बढ्दो छ । त्यसैले यसको न्यूनीकरणका लागि नियमित योग तथा प्राणायाम गर्नाले मानसिक तथा शारीरिक रूपमा स्वस्थ हुन सकिने विज्ञानले समेत प्रमाणित गरेको उनले बताए । उनका अनुसार नियमित योग, व्यायाम र प्राणायाम गर्ने व्यक्तिलाई आत्महत्याको सोच आउँदैन ।
पतञ्जली योग समिति, रोल्पाको आयोजनामा बुधबार रोल्पाको लिबाङमा सम्पन्न भएको रामनवमी पर्व–२०७३ का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै वैद्यले यस्तो बताएका हुन् । उनका अनुसार यिनै कुराहरूलाई मध्यनजर गर्दै पछिल्ला दिनमा चिकित्सकहरूले पनि बिरामीलाई औषधि सेवनका साथै नियमित व्यायाम तथा प्राणायामको सिफारिस गर्ने गरेका छन् । वैद्यका अनुसार आफूखुसी प्रशिक्षकविना नै गरेको योग साधनाले नकारात्मक असर पर्नसक्ने भएको हुँदा प्रशिक्षक तथा गुरुसँगै समूहमा योग गर्दा सहज हुने उनको भनाइ छ । ‘हामीभित्रका शारीरिक तथा मानसिक विकृतिहरूलाई योगको माध्यमबाट निर्मूल गर्दै विजय हासिल गर्न सकिन्छ’ उनले भने ।
यस्तै, कार्यक्रमका सभाध्यक्ष दामु मर्सिफुलले रामनवमीका दिनमा भगवान् रामको जन्म भएको र असत्यमाथि सत्यले विजय प्राप्त गरेको दिन भएकाले रामनवमीको महत्व रहीआएको बताए । मर्सिफुलले स्वामी रामदेवले रामनवमीकै दिनदेखि आफूलाई पूर्णरूपमा योगमा समाहित गरेकोले पतञ्जली योग समिति, रोल्पाले यो दिनलाई विशेष पर्वका रूपमा मनाएको जानकारी दिए ।
रोल्पामा पहिलोपटक रामनवमीको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । पतञ्जली योग समिति, रोल्पाका महिला प्रभारी रचना श्रेष्ठको १८ र १९ वर्षको उमेरदेखि नै पाठेघरमा समस्या थियो जसका कारण उनको महिनावारी नियमित थिएन भने नियमितरूपमा तल्लो पेट दुःख्ने समस्याले उनी प्रताडित थिइन् । त्यसैले आजभन्दा १५ वर्ष पहिलेदेखि उनले नियमित औषधि सेवन गर्दै आएकी थिइन् । तर, करिब दुई वर्ष पहिलेदेखि नियमित योग अभ्यास गर्न थालेसँगै उनको समस्या समाधान हुँदै गएको छ ।
गतः फागुन महिनामा काठमाडौं पुगी जाँच गर्ने क्रममा उनको रोग निर्मुल भएको भन्दै डाक्टरले औषधि नदिएपछि उनमा थप हौसला बढेको छ । हाल उनी निकै उत्साहित बनेकी छन् । हाल उनमा पहिलेदेखि बढ्दै आएको रक्तचाप पनि सामान्य अवस्थामा रहेको श्रेष्ठले जानकारी दिइन् । यस्तै, रोल्पा नगरपालिका–२ की मीना आचार्यका अनुसार उनमा नियमित ढाड दुःख्ने, जतिबेला पनि तनाव हुने, आलस्यता बढ्दै जाने, मन गहँु्रगो हुने समस्या थियो । तर, केही महिनादेखि उनले पनि योगाभ्यास गर्न थालेसँगै उनमा देखिएको समस्या न्यूनीकरण हुँदै गएको छ ।
उनका अनुसार हाल उनी फूर्तिलो बनेकी छन् । ढाड दुख्ने समस्या पनि घट्दै गएको छ भने मानसिकरूपमा उनमा ऊर्जा बढिरहेको छ । त्यसैगरी, लिबाङ, रोल्पाकी रम्भा आचार्यको करिब दुई वर्ष पहिलेदेखि टाउको दुख्ने, र नियमित रुघा लाग्ने समस्या देखिएको थियो । उनले पनि योगाभ्यास गर्न थालेपछि केही सहजताको अनुभूति हुन थालेको बताइन् । पछिल्लो दिनमा रोल्पामा योगाभ्यासतर्फ महिला तथा पुरुष दुवै आकर्षित बन्दै गएका छन् । तर, यसका लागि सीमित स्रोत र साधनका कारण सहजरूपमा योग कक्षाहरू सञ्चालन गर्न नसकिएको पतञ्जली योग समितिका अध्यक्ष मर्सिफुलले बताए ।

प्रतिक्रिया