रोकिएका आयोजनाका काम सुरु

OLYMPUS DIGITAL CAMERA

काठमाडौं, ३ जेठ । गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण निर्माण कार्य रोकिएका आयोजनाको काम अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन र सान्जेनको काम तीव्ररूपमा अगाडि बढेको छ । यस्तै राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोसीको काम पनि अगाडि बढेको प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।

लामाबगरको काब्रेभीरमा सुरुङ निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ भने बाँध निर्माण कार्य अघि बढेको छ । उक्त स्थानमा करिब ४ सय मिटर सडकखण्ड भूकम्पका कारण क्षति भएको थियो । नयाँ ट्र्याक खोलेर बाटो बनाउनुभन्दा सुरुङ नै उत्तम हुने निष्कर्षका साथ ११ करोड रूपैयाँ थप लगानी गरेर काम सुरु गर्न लागिएको प्रवक्ता न्यौपानेको भनाइ छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी साउनबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना भूकम्पका कारण करिब डेढ वर्ष पर धकेलिएको छ । यस्तै आयोजनाको गोगरदेखि किर्नेसम्मको २ सय २० केभी प्रसारण लाइनको काम अगाडि बढेको छ भने सडक मर्मत तथा बाँध, विद्युत् गृहको काम पनि सुरु भएको छ ।

रसुवामा आयोजनास्थल रहेको साञ्जेन, माथिल्लो सान्जेनको काम पनि अगाडि बढेको सान्जेन जलविद्युत् कम्पनीका आयोजना प्रमुख गिरीराज अधिकारी बताउँछन् । सहज रूपमा इन्धन पाउन थालेपछि निर्माण कार्य अघि बढाइएको हो । भूकम्प र नाकाबन्दीका कारण समस्यामा फसेको माथिल्लो सान्जेनको सुरुङ बर्खा अगावै सम्पन्न गर्ने लक्ष्य छ ।

कुल २ हजार १ सय मिटरमध्ये हालसम्म १ हजार १ सय ३० मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । ‘डेड महिनाभित्रै सुरुङ सम्पन्न गर्ने गरी काम सुरु गरेका छौँ’, आयोजना प्रमुख अधिकारीले भने । माथिल्लो सान्जेनको क्षमता १८ दशमलव ८ मेगावाट र सान्जेनको ४२ दशमलव ५ मेगावाट रहेको छ । ०७४ साल भदौसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका ती दुवै आयोजना भूकम्प र इन्धन अभावका कारण १ वर्ष पछाडि धकेलिएका छन् ।

माथिल्लो सान्जेन तुदी निर्माण कम्पनी र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रम तथा सान्जेन बज्रगुरु निर्माण कम्पनी र भारतीय उपक्रमले निर्माण गरिरहेको छ । दुवै आयोजनाको लागत ७ अर्ब २४ करोड रूपैयाँ रहेको छ । सान्जेन खोलाको पानीमा रसुवाको तिलुचे बगरमा बाँध बाँधी १ हजार ४ सय मिटर लामो सुरुङ तथा ४ सय ८० मिटर लामो पेनस्टक पाइपबाट १८ दसमलव ८ मेगावाट विद्युत् निकाल्ने योजना रहेको छ ।

सोही विद्युत् गृहबाट निस्केको पानी र सिम्बुको खोलाको पानीलाई मिसाई ३ हजार ६ सय मिटर लामो सुरुङ तथा १ हजार १ सय २० मिटर पेनस्टक पाइपको सहायताले ४२ दशमलव ५ मेगावाट विद्युत सान्जनेको नाममा निकालिनेछ । हाल आयोजनाको काम करिब ५० प्रतिशत सम्पन्न भएको छ । कुल ५ हजार २ सय मिटर लामो सुरुङमध्ये हालसम्म ७ सय ६० मात्रै सम्पन्न भएको छ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको रसुवागढीको कामलाई गति दिने तयारी गरिएको छ । १ सय ११ मेगावाट क्षमताको सो आयोजना रसुवाको थुमन र टिमुरे गाविसमा पर्छ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमामा निर्माण गरिएको सो आयोजनाको सबै संरचना भूमिगत रहेको छ ।

रसुवागढी छेउको तिब्बततर्फबाट प्रवाह हुने भोटेकोसी नदीमा बाँधबाँधी ४ हजार २ सय मिटर लामो हेडेरस सुरुङ एवं ३ सय १३ मिटर लामो पेनस्टक पाइपको सहायताले तातोपानी भिरभित्र विद्युत् उत्पादन गरिनेछ । भूकम्पअघि सो आयोजनाको करिब ३ हजार मिटर सुरुङ निर्माण गरिएको थियो ।

प्रतिक्रिया