नुवाकोटे टाइगरको टिमलाई बेल्ट

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा शनिवार (४ वैशाख) दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा नेपालका नुवाकोटे टाइगरको टिमले बेल्ट जितेको छ । नुवाकोटे टाइगर र जापानका काराइकाजे रहेको टिमले पुरुष ट्याग टिमको फाइनल इभेन्टमा न्युजिल्यान्डका राल्डेन र अमेरिकाका बुफाजस्ता शक्तिशाली रेस्लरलाई आकर्षण रुपमा पराजित गर्दै रिङ रेस्लिङ संघले आयोजना गरेको पहिलो प्रतियोगिताको बेल्ट आफ्नो नाममा बनाएका हुन् ।

बेल्ट जितेपछि नुवाकोट टाइगरले नेपालमा पनि शक्तिशाली मान्छे रहेको र रेस्लिङको सम्भावना प्रचुर रहेको बताए । टाइगरको टिमले अघिल्लो चरणको खेलमा ताइवानका डो नी र जापानको येजिलेको जोडीलाई आउट गरेको थियो भेन बुफाको जोडीले नेपालका कोजु र चीनका चेन दोङको जोडीलाई हराएको थियो ।

त्यसैगरी थ्री वे ट्यागटिमम्याचमा सिंगापुरका युरासियन ड्रागन, नेपालका सिक्स वान नाइन र बाबा युउको जोडीले मलेसियाका गुयान, किंग कोब्रा र युभको जोडीलाई हरायो । त्यसैगरी थ्री वे कर्नर महिला टिमको म्याचमा मंगोलियाको योसिकाले जापानकी नानाइ ताकाहासी र म्याक्सिकोकी ताइयोलाई आकर्षक रुपमा लक प्रहार गरेर हराइन् ।

यसअघि प्रधानमन्त्री केपी शर्माओलीले एक भव्य समारोहबीच रेस्लिङको उद्घाटन गरेका थिए । उनले उद्घाटन समारोहमा प्रतियोगिता सुरु भएको  घोषणा गर्दै भने, ‘अन्तर्राष्ट्रियस्तरका यस्ता म्याचहरु नेपालमा हुनु सुखद् पक्ष हो ।’ (सौस)

प्रतिक्रिया