आफ्नो राष्ट्रियता खोज्दै …

nagarikta copyकाठमाडौं, २८ चैत । धादिङकी टुटीमाया घले नेपाली हुनुको परिचय नागरिकता प्रप्तिको खोजीमा भौतारिँदै राजधानी आइपुगेकी छन् । यौवनको जोसमा होस् गुमाउँदा गाउँकै युवाको गर्भ बोकेकी उनीसँग यति बेला प्रेमीले दिएको मायाको चिनो काखे बालक सिवाय केही छैन । न उनलाई प्रेमीको परिवारले स्वीकार ग¥यो न प्रेमीले साथ दिए । उनका पति विदेशिएको धेरै भएको छ । माइतीको शरणमा बसेर ज्याला मजवुरीमा चलेको छ टुटीमायाको आमाछोराको दैनिकी । विगतलाई सम्झेर बेलाबेला भक्कानिने उनी भविष्य अन्धकार भएको पाउँछिन् ।

आफूले विश्वास गरेर सिंगो शरीर सुम्पेको प्रेमी कहाँ के काम गर्छ टुटीमायालाई अत्तोपत्तो छैन । उनी यतिबेला पतिको परिवारसँग न्याय र नागरिकता प्राप्तिको लडाइँमा छिन । उनी भन्छिन्, ‘के गर्नु अरूको काम गरेर कमाएको २/४ पैसा थन्क्याउन बंैक जाँदा नागरिकता खै’ ? भन्छन्, बैंकका मान्छे । बिहे भएको कारण बाबुआमाले नागरिकता बनाउन मिल्दैन रे !’ पतिको घरमा गएर नागरिकता बनाइदिनुभन्दा छोरालाई भन्, भन्छन् सासूससुरा । पति कुन देशमा के काम गर्छन् उनलाई भन्दैनन् परिवारका मान्छे । टुटीको मन यति बेला टुटेको छ चारैतिर प्रश्न बनेर आउने नागरिकताको सोधाइले ‘खै नागरिकता ?’ हिजोआज गाउँघरमा सञ्चालन हुने महिला समूहमा संगठित हुनसमेत उनलाई नागरिकताकै ‘बार’ लागेको छ ।

नागरिकताको पीडा भोग्ने ४६ लाख नेपालीको समस्या टुटीमायाको जस्तै छ । कारण फरकफरक भए पनि पीडा एउटै हो सबैको । बाबुको पहिचान नभएर, पतिले स्वीकार गर्न नमानेर, बाबु विदेशी भएर यस्तैयस्तै समस्या तेर्सिएका छन् नागरिकता नपाउनाको कारण । नागरिकता नपाउनेहरूले सञ्जाल खोलेका छन् आफ्ना आवाज संगठित रूपमा उठाउन । ४६ लाख नागरिकताविहीन नागरिकले अब आपूmहरूले सामूहिक लडाइँ लड्ने बताएका छन् ।

चितवन घर भएकी चन्द्रकला पौडेल (४१) का सन्तान जवान भएसके तर, उनीसँग राष्ट्रियताको परिचय नागरिकता प्रमाणपत्र छैन । ऐलानी जमिनमा आश्रित उनको परिवारलाई जमिन नापी हँुदा खोसिने त्रास छ । नागरिकता नभएको नाममा जमिन दर्ता हुँदैन भन्ने बुझेका छन् उनको परिवारले । न कमाएको रकम बैंकमा सञ्चित गर्न पाउँछन् । चन्द्रकलाको परिवारलाइ जता गए पनि नागरिकता बाधक बनेर आउने गरेको महसुस हुन्छ । ‘सुसुराको नागरिकता थियो त्यो पनि जल्यो । त्यही भएर पतिको नागरिकता बनेन । पतिको नभएको कारण मेरो र छोराछोरीको नागरिकता बनाउन पाएका छैनौँ’ उनले भनिन् ‘ठूलो छोरोले बिए पढेको छ । तर, उसले कतै काम गरेर खान पाउँदैन । छोराछोरीको भविष्य बिग्रने चिन्ता लाग्छ । हामीले कुटो कोदालो गरेर खान्छौँ उनीहरूले पढेको सदुपयोग गर्न नपाउने भयो ।’ चन्द्रकलाले एकै सासमा पीडा ओकलिन् ।

चन्द्रकलाको पीडा पनि टुटीमायाको जस्तै छ । यसो साह्रो गाह्रो पर्दा महिला समूहमा बसेर गर्जो टार्न पनि समस्या भएको छ उनलाई । जाने बित्तिकै नागरिकता उनको अगाडि समस्या बनेर आउँछ । अरूले समूहमा बसेर लिएको सुविधाले भत्भति पोल्छ उनलाई । आखिर कहिलेसम्म हो यो समस्या ? भनेर । आफूले झेलेको समस्या र छोराछोरीको भविष्यले उनलाइ मानसिक चिन्ता बढाएको छ । ‘छोराछोरी दिनदिनै निराश हुन्छन्, जेठोछोराले २ पटकसम्म पाएको जागिर गुमायो त्यही नागरिकताको कारण ।’ उनलाई यतिबेला आफ्नोभन्दा सन्तानको भविष्यको चिन्त्ता छ ।

‘सानैमा आमाले मावलीको जिम्मामा छोडेर बेपत्ता भइन, मामाघरमा हुर्कें आमा कहाँ छिन पत्तो छैन’ । चितवनलाई कर्मथलो बनाएका मनकुमार सुनवारको पीडा पनि उही नागरिकतामा जोडिएको छ । बाबु को हुन् ? मावलीलाई समेत थाहा छैन, बाल्यकाल त्यतिकै बित्यो । अहिले राष्ट्रियताको परिचय खोज्दै भौँतारिएको छु । सामान्य ठेक्कापट्टा गरेर गुजारा गरेका सुनवारलाई काम गर्न पनि त्यही नागरिकता बाधक बनेको छ । ‘ठेक्काको काम गर्न लाइसेन्स चाहिन्छ, लाइसेन्स बनाउन नागरिकता’ उनी भन्छिन् ‘म यतिबेला आफूले जानेको काम गर्नसमेत समस्यामा परेको छु ।’ २४ वर्षे यी जवानले यतिबेला घरजमसमेत गरेका छन् ।

शरीरमा नेपाली रगत भएर पनि नेपाली भएको अनुभूति गर्न नपाएका हामीजस्ता नागरिकताविहीनको बारेमा राज्यले केही सोचिदिनुपर्ने उनको धारणा छ । नागरिकता नपाउँदासम्म आफूहरू आन्दोलनमा होमिने सुनवारले बताए । नागरिकता विहीनहरूको राज्यसंग प्रश्न छ, आखिर हाम्रो राष्ट्रियता के हो ? के आजको संसारमा मान्छे राष्ट्रियताविहीन हुन सक्छ ?

प्रतिक्रिया