अमेरिकामा नेपाली उत्पादन मेला हुने

7pe190vf copyकाठमाडौं, २३ चैत । अमेरिकाको न्युयोर्क सहरमा नेपाली उत्पादनहरूको प्रबद्र्धनका लागि ३ दिने व्यापार मेला हुने भएको छ । अमेरिकामा रहेका नेपाली व्यवसायीहरूको संस्था वल्र्ड बिजनेस म्यानेजमेन्ट एन्ड कन्सल्ट्यान्ट एलएलसीको आयोजनामा आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ तारिखसम्म सो मेला आयोजना गर्न लागिएको हो ।

न्युयोर्कको म्यानहन्टनमा आयोजना हुने मेलालाई ‘नेपाल एक्जीबिसन एन्ड इन्टरनेसनल ट्रेड सो’ नाम दिइएको छ । नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको व्यापार मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरू सहभागी हुने जनाइएको छ ।

नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारसम्म लैजान सजिलो होस् भन्ने उद्देश्यका साथ मेला आयोजनाको तयारी अगाडि बढाइएको आयोजकले जनाएको छ । मेलामा ७० प्रतिशत नेपालभित्रका र ३० प्रतिशत नेपाल बाहिर उद्योगी व्यवसायीहरू सहभागी हुने जनाइएको छ ।

आयोजक संस्था वल्र्ड बिजनेस म्यानेजमेन्ट एन्ड कन्सल्ट्यान्ट एलएलसीका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले मेलाको सफल आयोजनापश्चात नेपाल–अमेरिका व्यापारमा नयाँ युगको सुरुआत हुने बताए । नेपालबाट अमेरिका निर्यात हुने विभिन्न वस्तुहरूमा हालै अमेरिकाले भन्सार छुट दिएको उल्लेख गर्दै रेग्मीले त्यसको उचित फाइदा लिन मेला फलदायी हुने बताए ।

मेलामा नेपाली कृषि उत्पादन, सांस्कृतिक तथा सम्पदा झल्कने सामग्री र नेपालको गौरव झल्काउने उत्पादनका साथै कफी, चिया, पाल्पाली ढाका, सुठो, अलैँची, खुकुरी, नेपालको मूर्तिकला तथा गहनाहरू आदिलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ । उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नाटालगायत संस्थाहरूले सो मेलाको आधिकारिक सहयोगीका रूपमा रहेका छन् ।

प्रतिक्रिया