भूकम्पपीडित खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं, १५ चैत । भारोत्तोलन संघले गत वैशाखको भूकम्पका कारण घाइते भएका, आफन्त गुमाएका, घर पूर्णरूपमा क्षति भएका तथा घर आंशिक क्षति भएका भारोत्तोलन खेलाडीलाई आर्थिक सहयोग प्रदान ग¥यो ।

पीडितलाई ३ समूहमा वर्गीकरण गरी क्रमशः ३० हजार, २० हजार र १५ हजार आर्थिक सहयोग प्रदान गरिएको थियो । जापान भारोत्तोलन संघले आफ्नो सक्रिएतामा संकलन गरी भारोत्तोलन संघलाई उपलब्ध गराएको ३ हजार अमेरिकी डलरबाट खेलाडीलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

एकेडेमी निर्माणको घोषणा

सोही कार्यक्रममा भारोत्तोलन संघले भारोत्तोलन तथा फिट्नेस एकेडेमी निर्माण गर्ने घोषणासमेत गरेको छ । नेपालगञ्ज रंगशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जग्गामा बन्न लागेको एकेडेमी भुइँसहित ४ तलाको हुनेछ । अहिलेको मूल्यांकनमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको भारोत्तोलन संघका अध्यक्ष रतनकुमार तण्डनले जानकारी गराए ।

भूइँ तलामा तालिम तथा फिट्नेस हल हुनेछ । यो तलामा १२ प्लेटफर्म बनाई प्रतियोगिता सञ्चालन गर्न पनि मिल्ने बताइएको छ । पहिलो तलामा १० कोठासहितको महिला होस्टेल र डाइनिङ हल रहनेछ । दोस्रो तलामा १२ कोठासहितको पुरुष होस्टेल तथा डाइनिङ हल बन्नेछ । चौथो तलामा ५० जना पढ्न मिल्ने हल र पुस्तकालय निर्माण गरिने योजना रहेको भारोत्तोलन संघले जनाएको छ ।

हसन आउन पाएनन्

त्यसै कार्यक्रममा एसियाली भारोत्तोलन महासंघका महासचिव मोहम्मद हसन जलौडले भारोत्तोलन संघलाई सामग्री हस्तान्तरण गर्ने कार्यक्रम थियो । अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघका सदस्य समेत रहेका हसन हवाइ यात्राका दौरान उत्पन्न विविध समस्याले गर्दा कार्यक्रममा उपस्थिति हुन नपाएपछि उक्त कार्यक्रम तत्काललाई स्थगित गरिएको छ ।
हसन ब्राजिल, चीनहुँदै नेपाल आउने कार्यक्रम थियो । हसनपछि नेपाल आएको बेला सामग्री हस्तान्तरण हुने भारोत्तोलन संघले जनाएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाल, भारोत्तोलन संघका अध्यक्ष तण्डनलगायतले खेलाडीलाई सम्मान तथा आर्थिक सहयोग प्रदान गरे ।

प्रतिक्रिया